प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङ
दुई शब्द
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापामा बसोबास गर्ने जम्मा ४,७०,९०५ जनसङ्ख्या भएका थारू जातिलाई मध्य पूर्वीया थारू भनेर चिनिन्छ र उनीहरू यो देशका आदिवासी भूमिपुत्र हुन्। उनीहरूले बोल्ने भाषालाई पनि मध्य पूर्वीया थारू भाषा भनिन्छ। यो भारोपेली परिवार अन्तर्गतको आफ्नै विशेषता र पहिचान बोकेको भाषा हो। नेपाल १२३ भन्दा वढि भाषाहरूले सुसज्जित विविधतायुक्त देश हो। यी भाषाहरूका आफ्नै मौलिक विशेषताहरू छन्, जीवन र जगतप्रतिका आफ्नै अनुभव छन् र तिनीहरूलाई हेर्ने आफ्नै प्रकारका दृष्टिकोण छन्। वास्तवमा वक्ताहरूको पुस्तौं पुस्ताको अभ्यास र प्रयोग पछि सभ्यता र संस्कृतिको रूपमा विकसित भएको ज्ञानको अमूल्य श्रोतको बाहक हो भाषा। अतः कुनै समुदायको भाषा लोप हुनु भनेको हजारौं वर्षको मानव निर्मित सभ्यता लोप हुनु हो र आउँदो पुस्तालाई भाषाका ती विशेषताहरूको ज्ञानबाट विमुख पार्नु र त्यो समुदायको सभ्यता र संस्कृतिको ज्ञानबाट बञ्चित गर्नु हो। विविधताको सुन्दरता बोकेको मुलकको हकमा एउटा विविधता कम गराउनु हो। यसकारण कुनै पनि भाषाको संरक्षण र सम्बर्द्धनमा योगदान पुर्याउनु राज्यको कर्तव्य हो।
मध्य पूर्वीय थारू भाषाको संरक्षण र विकास गर्ने पवित्र उद्देश्य लिएर मातृभाषा केन्द्र नेपालले मध्य पूर्वीया थारू–नेपाली शब्दकोश शिर्षक भएको द्विभाषिक शब्दकोश प्रकाशन गर्न लागेको खवर सुन्दा भाषाको एउटा विद्यार्थीको हैसियतले म अत्यन्त हर्षित छु। यो शब्दकोशको विद्युतीय स्वरूपलाई हेर्दा यो शब्दकोशमा १३,००० जति शब्दहरूको मूल प्रविष्टि र जम्मा २१, ००० जति शब्दहरू संमिलित भएको देखिन्छ। शब्द सङ्कलनकालागि मध्य पूर्वीया थारू क्षेत्र अन्तर्गतका १२ जिल्लाहरूलाई ४ क्षेत्र (क) क्षेत्र नं १: झापा, मोरङ र सुनसरी ख) क्षेत्र नं २: सप्तरी, उदयपुर र सिराहा ग) क्षेत्र नं ३: सर्लाही, महोत्तरी र धनुषा घ) क्षेत्र नं ४: रौतहट, बारा र पर्सा) मा विभाजन गरी प्रत्येक जिल्लाबाट भाषिक प्रतिनिधिहरू समावेश गरिएको र १८०० वटा शब्द क्षेत्र (Semantic Domain) मा आधारित विभिन्न प्रश्नावलीहरूको प्रयोग गरेर तिब्र शब्द सङ्कलन (Rapid Word Collection) विधि अन्तर्गत एकैपल्ट ५२ जना सहभागीहरूलाई ४ भन्दा बढि समूहमा विभाजन गरेर छलफल गरी शब्द सङ्कलन गरिएको थियो। यो शब्दकोश वास्तवमा ज्यादै मेहनतकासाथ तयार गरिएको छ। यसबाट यो भाषा सिक्न र जान्न चाहने मातृभाषी र गैर मातृभाषी दुवैलाई ठूलो सहयोग मिल्ने छ भन्ने मलाई विश्वास छ। शब्दकोश निर्माण र प्रकाशन गरेर मातृभाषाको संरक्षण र विकासमा योगदान पुर्याउने मातृभाषा केन्द्र नेपालको निर्देशक श्री सुशील सुब्बा र उक्त कार्यमा सम्मिलित सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ
नेपाल र एसियाली अनुसन्धान केन्द्र
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
मिति : २०७३ आश्विन २६