Sorry, this entry is only available in Nepali.

शुभकामना!

नदीहरू भाषा विभाजक हुन्छन्। आवत-जावतमा बाधा अडचन पुर्‍याउँछन्। भाषाशास्त्रीहरू त्रिशुली नदीलाई तामाङ भाषाका विभाजक मान्दछन्। त्रिशुली नदीको पूर्वतिर बोलिने तामाङ भाषालाई ‘पूर्वेली तामाङ भाषा’ र पश्‍चिमतिर बोलिनेलाई ‘पश्‍चिमी तामाङ भाषा’ भन्दछन्। हालको प्रशासनिक भूगोलको आधारमा हेर्दा पश्‍चिमी तामाङ भाषा नुवाकोट र रसुवाको आधा भूभागमा, धादिङ जिल्‍लाभरि र यसका अझ पश्‍चिमतिर बोलिन्छ।

प्रस्तुत शब्दकोश ‘पश्‍चिमी तामाङ भाषा’को पहिलो तामाङ शब्दकोश (डिक्सनेरी) हो। यसभन्दा अगाडि सन् १९७२ मा डोरिन टेलर, एफ. इभरिट र कर्णबहादुर तामाङले तामाङ शब्दावली (भोकाबुलारी) तयार गरेका थिए। अजितमान तामाङ (२०५१) र धनम तामाङ (२०७०) ले पनि शब्दावली छापेका छन्।

भाषाको अर्थपूर्ण इकाई हो- शब्द। शब्दको बारेमा पूर्ण जानकारी दिने शब्दको सङ्ग्रहलाई ‘शब्दकोश’ भनिन्छ। तामाङ शब्दकोशले तामाङ शब्दको जानकारी दिएको हन्छ। शब्दकोशमा प्रविष्टि शब्द, सो शब्दको उच्‍चारण, शब्द–वर्ग, अर्थ, प्रयोग क्षेत्र आदिको जानकारी प्रस्तुत गर्दछ। यस कोशमा लगभग ७,५०० शब्द छन्। शब्द उच्‍चारण विधि बाहेक सबै आधारभूत सूचना दिइएको छ। यथास्थान पर्यायवाची शब्द पनि दिइएको छ। यस द्विभाषिक कोशमा स्रोत भाषा तामाङ र लक्ष्य भाषा नेपाली रहेको छ। नेपाली-तामाङ शब्दावली पनि दिइएको छ। आर्थीकोशका केही नमुना पनि यहाँ पाउन सकिन्छ।

तामाङ शब्दकोशको परम्परालाई हेर्दा प्रस्तुत शब्दकोश पाँचौ स्थानमा देखिन्छ। अगिल्‍ला शब्दकोशहरू पूर्वीय तामाङमा छन्। सर्वप्रथम अमृत योन्जन–तामाङ (२०५४) द्वारा सम्पादित ‘तामाङ शब्दकोश’ मा मूल प्रविष्टि र उपप्रविष्टिमा गरी ४,५०० तामाङ शब्द सम्पादित छन्। यसका साथै १,८०० जति नेपाली–तामाङ शब्दावली पनि दिइएको छ। यसपछि डी.बी. योन्जन (इ. २०१०) द्वारा सम्पादित तामाङ–नेपाली–अङ्ग्रेजी त्रैभाषिक शब्दकोश देखा पर्‍यो। भारतको कालिङपोङबाट प्रकाशित यस ‘तामाङ–नेपाली–अङ्ग्रेजी शब्दकोश’ मा प्रविष्टि र उपप्रविष्टिमा गरी लगभग ३,२८० शब्द छन्। यसपछि अमृत योन्जन–तामाङको ‘तामाङ वृहत शब्दकोश’ (२०७०) र दुपवाङ्गेल मोक्तानको ‘तामाङ छिगजो’ (२०७१) प्रकाशित भए। पछिल्‍ला दुवै शब्दकोशमा उच्‍चारण पनि दिइएको छ। योन्जनको शब्दकोशमा ७,२७५ शब्द छन् भने मोक्तानको कोशमा ५,५५० शब्द छन्। दुवै कोशमा नेपाली–तामाङ शब्दावली दिइएको छ। योन्जनले १,५५० शब्दको आर्थीकोश पनि दिएका छन्।

तामाङ भाषाको सर्वप्रथम चर्चा सन् १८४७ मा एच.बि. हज्सनले गरे। उनले हिमाली भाषाहरूको तुलनात्मक अध्ययन गर्ने क्रममा १७८ तामाङ शब्द सङ्‍कलन गरे। यसपछि ग्रियर्सन (सन् १९०९) लगायतका बेलायती लेखकहरूले अध्ययन विश्लेषणका लागि तामाङ शब्द सङ्‍कलन गरेको पाइन्छ। तामाङहरू आफैले तामाङ शब्दार्थ सूची (ग्लोसरी) दिने कार्यको प्रारम्भ सन् १९५६ मा बुद्धिमान मोक्तानले गरे। यसपछि सन्तवीर लामा, जि.डि. लामा आदि लेखकहरूले पनि शब्दार्थ सूची प्रकाशित गरेको पाइन्छ। विभिन्‍न प्रयोजनको लागि पुस्तकको अन्तमा दिइने अर्थसहितको शब्दावलीलाई शब्दार्थ वा शब्दार्थ सूची भनिन्छ।

यसरी हालसम्म उपलब्ध तामाङ शब्दकोशहरूलाई तिन श्रेणीमा राख्न सकिन्छ– (१) शब्दकोश (२) शब्दावली (३) शब्दार्थ सूची। तामाङ भाषामा तिनै प्रकारका शब्दकोश सम्पादन कार्यले निरन्तरता पाइरहेको छ। प्रस्तुत कोशलाई निरन्तरताको एउटा उदाहरणको रुपमा लिन सकिन्छ।

भाषाको अभिवृद्धिमा शब्दकोशको अहम् भूमिका हुन्छ। भाषाको मानकीकरणमा पनि यसको योगदान हुन्छ। यस कोशले पश्‍चिमी भाषाको अभिवृद्धि र मानकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ भन्‍नेमा म विश्वस्त छु। लेखनमा मानकीकरणलाई सूत्रबद्ध गरेर अनुसूचीमा राखिएको छ। पूर्वेली तामाङ भाषासँग तुलना गर्न र तामाङ साझा कोश तयार गर्न पनि यस कोशले सघाउने छ।

कोश सम्पादन निकै कष्टकर कार्य हो। यस्ता कोशे ढुङ्गा सावित हुने शब्दकोश सम्पादनको लागि शब्द सङ्‍कलन र सम्पादन कार्यमा सक्रिय भाषाप्रेमी र विज्ञहरू, प्रकाशक र कोश चिन्तकहरू सवैप्रति म नतमष्तक छु र रहनेछु। यस कोशको लागि शुभकामनाको योग्य ठान्‍नु भएकोमा म मातृभाषा केन्द्र नेपालप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्दछु।

धन्यवाद।

 

- अमृत योन्जन-तामाङ

समता अस्पताल चोक, कुमारीगाल,

बौद्ध, काठमाडौं।

२७ फागुन २०७३