१. पृष्ठभूमि
याम्फु भाषा पुर्वी नेपालको पहाडी क्षेत्रमा बोलिने किरात राई समूह अन्तर्गतको एक भाषा हो। पल्लो किरात प्रदेश अन्तर्गत उत्तरी संखुवासभा जिल्लामा अवस्थित हेदाङ्ना र सेदुवा क्षेत्रलाई आफ्नो मूलथलो (Origin) वा आदिम थातथलो (Core-Area) वा याम्फु थातथलो (Yamphu-Homeland) मानिन्छ। आदिम कालमा नेपालको सप्तकोशी नदीको प्रमुख शाखा नदीको रूमा रहेको अरुण नदीको किनार हुँदै साईंलो भाइ याम्फु पुर्खा शुरुमा तिब्बतसम्म पुगे। त्यही ठाउँमा एकजना भोटेनीसँग विवाह बन्धनमा बाँधिएर उनीबाट दुई सन्तानको जन्म भएको बताइन्छ।
बुबा आमाको देहान्त पश्चात् दुवै दाजुभाइले त्यसै ठाउँदेखि अन्तै जाने विचार गरे। ती दाजुभाइले “स्याक्मा फुरु” र “स्याक्मा तोक्लाङ” नामको दुई वस्तुलाई अरुण नदीमा बगाई जुन ठाउँमा अल्झिएर रहेको हुन्छ त्यसै ठाउँमा गएर हामीले बसोबास गर्नु पर्छ भनेर बाचा गरी नदीमा बगाइपठाए भन्ने भनाई छ। त्यसरी बगाइपठाएको उक्त वस्तु कहाँ पुग्यो भनेर खोज्दै तलतिर आउने क्रममा अहिलेको भोटखोला गाउँपालिका अन्तर्गत पर्ने अरुण नदी किनारको सेम्बुङ फेदी भन्ने ठाउँमा तलाउको छालसँगै घुमिरहेको अवस्थामा भेट्टाए।
त्यहाँ दुवैजनाले जीविकोपार्जनको लागि उपयुक्त ठाउँ नभएको ठहर गरी “स्याक्मा फुरु” र “स्याक्मा तोक्लाङ” लाई पुन: वाचा गरी बसोबासको निमित्त अझ राम्रो ठाउँको खोजी गर्नका लागि बगाइपठाएको भन्ने भनाई रहेको छ। सोही वस्तुलाई पछ्याउने क्रममा ती दुई दाजुभाइले हालको संखुवासभा जिल्ला अन्तर्गत पर्ने हेदाङ्ना भन्ने ठाउँको मानेडाँडामा आइपुगे। त्यस मानेडाँडा भन्ने ठाउँमा बसेर सरसल्लाह भएबमोजिम उनीहरू छुट्टिने निर्णय गरे र एक भाइ (रुदाङ टुवा) त्यही हेदाङ्नामा बसे भने अर्को भाइ (सेप्पा टुवा) चाहिँ सेदुवातिर लागे।
हेदाङ्नामा रहेको भाइ चाहिँ सिधै तल रुदाङ पोखरीमा गए। उक्त रुदाङ पोखरीको वरिपरि अत्यन्तै घना जंगल तथा झारपात रहेको हुनाले त्यहाँ भाटाले झारपात फाँड्ने क्रममा दुई दाजुभाइले पुनः बगाई पठाएको “स्याक्मा फुरु” र “स्याक्मा तोक्लाङ” त त्यस रुदा पोखरीमा पो घुमिरहेको अवस्थामा फेला पारे, र त्यही ठाउँमा बस्नको लागि राम्रो रहेको महसुस गरी सदाका लागि त्यही रुदाङपोखरी अर्थात् (हाङ्होङ चावा ठुक्माहाङ) क्षेत्रमा बस्न थाले भन्ने याम्फु मुन्धुममा उल्लेख छ।
२. बसोबास क्षेत्र
हाल आएर याम्फु समुदाय सोही जिल्लाको नुम, पावाखोला, देविटार, बाह्रबिसे, माल्टा, वालुङ, माङ्तेवा तथा खाँदबारी नगरपालिका क्षेत्रहरूमा समेत फैलिँदै गएका छन्। याम्फुवान क्षेत्रमा रहेको हेदाङ्नागढी (वीर किरात पुर्खाहरूले तिब्बती फौंजसँग लडेको ऐतिहासिक गढी) ले किरात ऐतिहासिक स्थलको रूपमा पहिचान झल्काएको छ। साथै याम्फु पुर्खाहरूले झुन्ड्याएका केडेम ‘ढुङ्गाको ढोल’ र च्यान्द्रुङ ‘गाडिराखिएको ऐतिहासिक ढुङ्गा’ यी सम्पूर्ण याम्फु ऐतिहासिक निसानीहरू अझै पनि जीवितै छन्।
हाल आएर याम्फुहरू धनकुटा, इलाम, सुनसरी, मोरङ, झापा आदि जिल्ला र मुलुक बाहिर विभिन्न देशहरूमा समेत छरिएर रहेका छन्। याम्फु भाषिक समुदायका छिमेकका अन्य किरात राई समुदायहरूमा लोहोरुङ, मेवाहाङ, कुलुङ, खालिङ, र चाम्लिङ आदि सदियौंदेखि बसोबास गर्दै आएका छन्। यसका साथै नेपालीभाषी अन्य जातिहरूमा दलित, तामाङ, शेर्पा, भोटे, गुरुङ, क्षेत्री तथा ब्रम्मण आदि ईष्टमित्रहरू समेत ओल्लो पल्लो गाउँटोल र छरछिमेकमा रहिआएका छन्।
याम्फु समुदायको परम्परागत पेसा कृषि तथा पशुपालन हो। तापनि हाल आएर शिक्षण, सरकारी, सैनिक, प्रहरी, व्यापार व्यवसाय र वैदेशिक रोजगारमा समेत यस समुदायको अत्यधिक रूपमा संलग्नता रहेको देखिन्छ। अन्य कतिपय किराती भाषाहरूमाझैँ याम्फु भाषामा पनि संस्कार संस्कृतिको स्रोत मुन्धुम आजसम्म पनि मौखिक रूपमा नै सीमित रहेको छ।
जुन चाहिँ याम्फु मुन्धुमविद, माङ्बा, याडाङ्बा (धामी, पुजारी) हरूले मात्र पुस्तौँदेखि भट्याउँदै र बचाउँदै ल्याएका छन्। यसरी प्रकृतिपुजक याम्फुहरू माङसुकलाई आफ्नो कुल देवता वा पितृको रूपमा मानिआएका छन्। लोपोन्मुख याम्फु भाषा उपर्युक्त प्रायः सबै क्षेत्रहरूमा नै बोल्ने गरेको पाइन्छ। हाल हेदाङ्ना लगायतका केही ठाउँहमा मात्र वृद्ध, युवा र बच्चासम्मका तिनै पुस्ताले याम्फु भाषा प्रयोगमा ल्याएको पाइन्छ। अन्य समुदायका अघिल्लो पुस्ताले पनि दैनिक जीवनमा याम्फु भाषाको प्रयोग गर्ने गरेको पाइन्छ।
यसर्थ अन्य समुदाय तथा क्षेत्रहरूको हकमा याम्फु भाषा दिन प्रतिदिन बिर्संदै गइरहेको कटु यथार्थ ओकल्नै पर्ने हुन्छ। यस भाषामा भाषिक अभिलेखनका प्रयासहरू बिगत दुई दशक अघिदेखि भैराखेका छन्। यसका साथै याम्फु भाषाको अभिलेखीकरण र समाज भाषावैज्ञानिक स्थलगत अध्ययनका साथ विस्तृत प्रतिवेदन लेखनको काम समेत सम्पन्न भैसकेको अवस्था छ।
३. पारिवारिक सम्बन्ध
याम्फु शब्दले साझा रूपमा जाति र भाषा दुवैलाई जनाउँदछ। याम्फु राईहरू आफ्नो मातृभाषा याम्फु भाषालाई टाङ्बामि खाप ‘याम्फु भाषा’ तथा टाङ्बामि खनावा ‘याम्फु भाषा’ भन्ने गरिन्छ। यो भाषा चीन तिब्बती परिवारको भोटबर्मेली शाखाको बोडिक उप–शाखाभित्र पर्ने हिमाली समूह अन्तर्गत पूर्वी हिमाली वा किरात राई शाखाभित्र पर्दछ।
पल्लो किरात प्रदेश अन्तर्गत भाषिक परिवार वा विशेषताको आधारमा याम्फु नजिकका भाषाहरूमा, लोहोरुङ, मेवाहाङ, याक्खा र देवान पर्दछन्। किरात राई समुदायभित्र भाषा तथा संस्कार संस्कृतिबीच विविधता भए तापनि याम्फु समुदायको अधिकांश रीतिरिवाज एवं संस्कार संस्कृति राईभन्दा लिम्बु समुदायसँग चाहिँ केही नजिक रहेको देखिन्छ। याम्फु समुदाय अन्तर्गत विभिन्न चाडपर्व मनाइने भए तापनि इक्सम्माङ ‘बाली पूजा’ मुख्य चाडको रूपमा मनाउने गरिन्छ।
४. जनसङ्ख्या र लोपोन्मुखता
याम्फु समुदायको पुर्ख्यौर्ली थातथलो पूर्वी नेपालको संखुवासभा जिल्लाअन्तर्गतको हेदाङ्ना क्षेत्रलाई लिने गरिन्छ। राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालमा याम्फुहरूको जनसङ्ख्या ९,२०८ रहेको देखिन्छ। तापनि नेपाल लगाएत मुलुक बाहिर समेत गरी एक लाखभन्दा बढी याम्फुहरू रहेको संस्थागत अनुमान छ। सबैले आफ्नो थर याम्फु नलेखी राई मात्र लेख्नाले पनि हाम्रो आधिकारिक जनसङ्ख्या आकस्मिक रूपमा कमी देखिन गएको स्पष्ट छ।
जनगणनामा यति थोरै देखिए तापनि याम्फुभाषीहरू हाल यति नै मात्र छन् भन्ने चाहिँ हुँदै होइन। साथमा आगामी जनगणनामा तथ्यगत याम्फु जनसङ्ख्या लेखाउने संस्थाको प्रयास रहने पनि छ। हालमा विविध कारणले गर्दा यस भाषाको वक्ता सङ्ख्या दिनदिनै घट्दै गइरहेको छ।
अधिक मात्रामा मातृभाषी याम्फुहरू नेपाली भाषामा द्विभाषी हुनुले भाषा परिवर्तनको मारमा पर्दै गएका छन्। याम्फु समुदायमा पनि नेपाली भाषाले याम्फु भाषालाई विस्थापित गर्ने क्रम तीव्र छ। जसले गर्दा याम्फु वक्ताको सङ्ख्या सीमित हुँदै गइरहेको छ। यसर्थ पनि याम्फु भाषाको अस्तित्व संकटमा परेको स्पष्ट हुन्छ।
यसरी याम्फु भाषा संकटमा पर्दै जानुका प्रमुख कारणहरूमा खस नेपाली भाषाको सीधा प्रभाव, अन्तरभाषी समुदायबीच विवाह, चेतनाको अभाव, न्यून जीवनस्तर, धर्म परिवर्तन, राज्यको अस्पष्ट भाषा नीति तथा फितलो कार्यान्वयन आदि पर्दछन्। आफ्नो मातृभाषा र मौलिक संस्कार हराउँदै गइरहेको अवस्थामा याम्फु राईहरूको स्व–पहिचान स्थापित गराउने उद्देश्यका साथ विगत दुई दशक अघिदेखि याम्फु किरात समाज नामको एक संस्था स्थापना गरी यसै मार्फत याम्फु भाषा संस्कार तथा कला संस्कृतिको संरक्षण, संवर्द्धन र विकासको लागि क्रियाशील रहँदै आएको छ।
यसर्थ यस समाजको केन्द्र, जिल्ला र गाउँ गरी जम्मा तीन तहको संरचनागत कार्यसमितिहरू तथा विभिन्न विभागहरू (युवा तथा विद्यार्थी, महिला, वौद्धिक, प्राज्ञिक तथा अनुसन्धान र कला संस्कृति आदि) रहेका छन्। साथमा यस समुदायले विभिन्न समयमा गाउँ, जिल्ला तथा केन्द्रमा पहिचानको लागि धेरै आन्दोलन र संघर्षका कार्यक्रमहरू चरणवद्ध रूपमा गरिआएको छ। तापनि अहिलेसम्म राज्यको तर्फबाट अन्य भाषिक समुदाय लगायत याम्फु किरात समाजको बारेमा उतिसारो चासो लिएको अवस्था छैन।
सूचीउन्मुख याम्फु किरात समुदायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड एवं परिभाषाअनुसार आदिवासी जनजातिको रूपमा राज्यबाट सम्वोधन गरिनु पर्ने हो। मिति २०७४ साल बैशाख ११ गते राज्यले गृह मन्त्रालयद्वारा जारी अल्पसङ्ख्यकको सूची अन्तर्गत याम्फु जातिलाई पनि समावेश गरी आदिवासी जनजातिको मापदण्ड तथा परिभाषालाई कुल्चेर सोझै नीतिलाई गणितीय हिसाबले पेलेर सिङ्गो याम्फु समुदायलाई उल्टै सूचीकरण हुनबाट नै बञ्चित गराइएको स्पष्ट देखिन्छ।
अन्तमा अन्य भाषिक समुदायका साथसाथै याम्फु समुदायलाई राज्यको तर्फबाट उपेक्षा गरिए पनि आगामी दिनहरूमा सिङ्गो समुदाय साझा उद्देश्यका साथ विभिन्न क्षेत्रमा एकजुट हुनु जरुरी देखिन्छ। विभिन्न क्षेत्रमा विविध कारण (धर्म र राजनीति) जुट्न नसकिरहेको याम्फु समुदाय अविलम्ब एकजुट हुनु जरुरी छ र यसको महत्वपूर्ण भुमिका निर्वाह गरी सही दिशातर्फ दिगो एवं दीर्घकालीन रूपमा लैजानुपर्ने देखिन्छ।
यसर्थ विभिन्न क्षेत्र (पेशा व्यवसाय, विद्यार्थी, सरकारी सेवा, वैदेशिक रोजगार, धर्म, राजनीति आदि) मा रहनुहुने सम्पूर्ण याम्फु समुदायमा हामी आफ्नो भाषा–संस्कार, कला–संकृतिको संरक्षण र संवर्द्धनका लागि होस्टेमा हैँसे गर्दै सचेत र क्रियाशील रहौँ। यस अभियानमा देश विदेशमा रहनुहुने सम्पूर्ण याम्फुहरूमा हाम्रो माङ्सुकले सधै रक्षा तथा कल्याण गरून्। जय याम्फुवान..!
उत्तर कुमार याम्फु,
केन्द्रीय महासचिव