नोवल किशोर

बधाइका केही शब्दहरू

भर्खरै मलाई तोबाजीले खालिङ शब्‍दकोश प्रकाशन हुन लागिरहेको कुरा बताउनुभयो। मेरो दलानमा आएर सो शब्‍दकोशको नमूना प्रति पनि देखाउनुभयो। मलाई अपार हर्ष लाग्‍यो। नेपालको मातृभाषाका रूपमा बोलिने एउटा भाषाको अभिलेखन वैज्ञानिक रूपमा हुन लागेको कुराले म एउटा भाषा शास्‍त्रका शिकारूलाई आनन्‍द लाग्‍ने कुरो नै हो।

यो शब्‍दकोश खालिङ - नेपाली - अंग्रेजी तीन भाषामा तयार हुन लागेको रहेछ। केही शब्‍दकोशहरू जस्‍तै शब्‍द - शब्‍द मात्र नथुपारेर तिनका प्रयोग समेत खालिङ र अंग्रेजीमा दिइएको रहेछ। यसरी शब्‍दहरूको प्रयोग देखाउनाले शब्‍दकोश प्रयोगकर्तालाइ सरल र उपयोगी हुनसक्‍छ। भाषा भनेको प्रयोगको विषय हो र वास्‍तविक रूपमा स्‍वभाविक बोलचालका वाक्‍यहरूमा यसरी प्रस्‍तुत गरिनाले मातृभाषी र गैर मातृभाषी दुवै थरिलाई चित्त बुझ्‍ने हुनसक्‍छ।

लगभग २०२६ सालतिर मैले तोबाजीलाई त्रिभूवन विश्‍वविद्यालय कीर्तिपूरमा भेटेको थिएँ। सो बखतदेखि हालसम्‍म पनि उहाँ र उहाँकी श्रीमती दुवैजनाले खालिङ भाषाको अध्‍ययन गरेर त्‍यसै भाषाको विकासमा लागिरहनुभएको छ। यसरी विदेशी नागरिकले पूरै नयाँ परिवेशमा नौलो भाषाको बारेमा अध्‍ययन अनुसन्‍धान गर्ने रूचि राख्‍न भनेको अत्‍यन्‍तै सकारात्‍मक कुरो हो भन्‍ने ठानेको छु। हाम्रो लागि भाषा विज्ञान नयाँ विषय हो भने कोश विज्ञान त अझ कति नौलो ज्ञान पर्‍यो। यसैले यी नयाँ ज्ञान र प्रविधिको सहायताले हाम्रा आफना भाषाहरूको अध्‍ययन र अभिलेखिकरण गर्नु गर्वको विषय पनि हो। यसैकारण संपादक द्वय श्री सुएयोसि तोबाज्‍यू र उहाँकी सहधर्मिणि श्रीमती इङ्‍ग्रीट तोबा धन्‍यवादका पात्र हुनुहुन्‍छ। एउटा शब्‍दकोश र एउटा व्‍याकरणको लेखनले हामीलाई पर्याप्‍त हुँदैन। तसर्थ यो शब्‍दकोशको आधारमा अरूअरू शब्‍दकोश र व्‍याकरणहरू लेखिनु पर्दछ भन्‍ने लागेको पनि छ।

मैले बुझेसम्‍म खालिङ भाषाका विभिन्‍न क्षेत्र र भाषिकाहरूको प्रतिनिधित्‍व गराएर समावेशी रूपमा तयार भएको यो कोश सबै मातृभाषीहरूमा मान्‍य र ग्राह्य हुनेछ भन्‍ने आशा गरेको छु। सम्‍पादक तथा मातृभाषीहरूमा धन्‍यवाद र शुभकामना अर्पण गर्दछु।

प्रा. डा. नोवल किशोर राई

धोविघाट – ललितपूर