भाषाविज्ञान केन्द्र

शुभकामना

नेपाल बहुजातिय, बहुभाषिक र बहुसाँस्‍कृतिक देश हो। प्राग्‍ ऐतिहासिक कालदेखि नै आफ्नो जातिय पहिचान, भाषा र संस्‍कृतिलाई अक्षुण्ण राख्दै अन्‍य जाति, भाषा र संस्‍कृति तथा धार्मिक भावनालाई सम्‍मान गर्ने नेपाली परम्‍परा रहिआएकोमा इतिहासको कालखण्‍डमा राजनीतिक दाउपेचका कारण 'एक राज्‍य एक भाषा' नीति अवलम्‍वन गरी एकोहोरो रूपमा नेपाली भाषालाई राज्‍यले नै संरक्षण र संवर्द्वन गर्ने नीति लिइएकोले नेपाली इतर मातृभाषीहरू जबर्जस्‍ती नेपालीतिर रूपान्‍तरित हुँदै जाँदा नेपालका धेरै भाषाहरू संकटापन्‍न अवस्‍थामा पर्दै गएर जाति र संस्‍कृतिको पहिचानमा समेत आघात पुर्‍याएको कुरा सबैमा विदितै छ। वि सं २०६८ सालको जनगणना अनुसार १४,४६७ वक्ता रहेको खालिङ नेपालको एउटा छुट्‍टै पहिचान भएको भोट बर्मेली भाषा-परिवारको एक लोपोन्‍मुख भाषा हो। यस्‍ता भाषाको संरक्षण, संवर्धन र विकास गर्नका लागि राज्‍यकै तर्फबाट भाषा र संस्‍कृतिको अभिलेखिकरण, व्‍याकरण र शब्‍दकोश निर्माण तथा मातृभाषामा आधारभूत शिक्षाको सहज व्‍यवस्‍थाको सुनिश्‍चित्ता भइनसकेको अवस्‍थामा समर इन्‍स्‍टिच्‍युट अफ लिङ्‍ग्‍विस्‍टिक्‍ससँग आवद्व भई नेपालका भाषाहरूको संरक्षण, सम्‍वर्धन र विकासमा आफनो सम्पूर्ण जीवन समर्पण गरेका जापानी दम्‍पत्ती श्री सुएयोशी तोबा र श्रीमती इङ्‍ग्रीट तोबाबाट वि सं २०३१ सालमा पहिलो संस्‍करणको रूपमा प्रकाशित शब्‍दकोशमा समयको क्रम र विज्ञान र प्रविधिको विकास सँगै शब्‍दार्थमा हुने परिवर्तन र थप हुन गएका खालिङ जीवन र जगतका  हरेक पक्षसँग सम्बन्‍धित शब्‍दहरू संकलन गरी शब्‍दकोश निर्माणका आधुनिक पद्धतिका आधारमा एक व्‍यवस्‍थित र वैज्ञानिक  त्रिभाषिक (खालिङ-नेपालि-अङ्‍ग्रेजी) शब्‍दकोश निर्माण भई दोस्रो संस्‍करणको रूपमा प्रकाशन हुनु अति नै सराहनीय काम हो। यस अवसरमा भाषाविज्ञान केन्‍द्रीय विभाग परिवारका तर्फबाट खालिङ भाषिक समुदाय, संपादक लगायत प्रत्‍यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबै प्रति शुभकामना दिन चाहन्‍छु।

पहिचानको आधार विन्‍दु रहेको पुर्ख्‍यौली खालिङ भाषा सिक्‍न चाहना राख्‍ने खालिङ र अन्‍य जो कोहीलाई खालिङ भाषा सिक्‍न, मातृभाषामा आधारित आधारभूत तहका पाठ्‍यसामाग्रीको निर्माण गर्न, साहित्‍यको सिर्जना तथा भाषामा अन्तर्निहित जीवनका लागि नभई नहुने ज्ञान (life crucial knowledge) को पुस्‍तान्‍तरणका लागि अभिलेखिकरण गर्न, त्‍यस्‍ता ज्ञानमा आधारित पाठ्‍यसामाग्री निर्माण गरी साक्षरता कार्यक्रम लागू गर्न, एक भाषामा भएका कुरालाई अर्को भाषामा रूपान्‍तरण गर्न, खालिङ भाषा र संस्कृतिको संरक्षण, संवर्धन र विकास गर्न यस कोशले कोसे ढुंगाको रूपमा ठूलो योगदान पुर्‍याउने छ।

सम्पादक-द्वय श्री सुएयोसी तोबा र श्रीमती इङ्‍ग्रीट तोबाले खालिङ भाषिक-समुदायको प्रत्‍यक्ष सहभागितामा अगामी दिनमा पनि यस भाषाको विकासका लागि निरन्‍तरता दिइरहनु हुनेछ भन्‍ने अपेक्षट गर्दछु। यस शब्‍दकोशले खालिङ भाषा र संस्‍कृतिको संरक्षण, संवर्धन र विकास गर्न ठूलो योगदान पुर्‍याओस्‍ भन्‍ने शुभकामना व्‍यक्‍त गर्दछु।

प्रा.डा. दानराज रेग्मी

विभागीय प्रमुख तथा निर्देशक

नेपालको भाषिक सर्वेक्षण