परिचय

नेपालको पूर्वी पहाडी गाउँहरूमा बसोबास गर्ने विभिन्‍न जातिहरू मध्‍ये खालिङ राई पनि एक हुन्‌। खालिङहरू सोलुखुम्‍बु, खोटाङ, भोजपुर, संखुवासभा र इलाम जिल्‍लाहरूमा बसोबास गर्दछन्‌। हाल आएर खालिङहरूको झापा, मोरङ, सुनसरी र काठमाडौंमा पनि बसोबास छ। खालिङ जातिको पनि आफ्‍नै भाषा छ जसलाई खालिङ भाषा भनिन्‍छ। यो भाषा भोट-बर्मेली भाषा परिवार अन्‍तर्गत पर्दछ।

यो शब्‍दकोश सोलुखुम्‍बु जिल्‍लामा बोलिने खालिङ भाषाको आधारमा तयार गरिएको छ। खालिङ भाषा लोप नहोस्‌ र यसको संरक्षणहोस्‌ भन्‍ने उद्देश्‍य राखेर “नेपाली-खालिङ, खालिङ-नेपाली” शब्‍द-कोश प्रकाशन गरिएको हो।

सन्‌ १९७० मा एस.आई.एल.इन्‍टरनेश्‍नल संस्‍थाका सदस्य श्री सुएयोसी तोबा र श्रीमती ईङ्रग्रीड तोबा खालिङ जातिको भाषा अध्‍ययन गर्न सोलुखुम्‍बु जिल्‍ला आउनुभयो। सन्‌ १९७४ मा “नेपाली-खालिङ, खालिङ-नेपाली” शब्‍द-संग्रह तयार गर्न उहाँहरू सफल हुनुभयो। त्‍यसैगरी सन्‌ १९७५ मा खालिङ-अँग्रेजी, अँग्रेजी-खालिङ शब्‍द संग्रह पनि उहाँहरूले प्रकाशित गर्नुभयो। धेरै लामो समयको पर्खाई पछि “खालिङ-नेपाली-अँग्रेजी” शब्‍दकोशको रूपमा प्रकाशन हुन सकेको छ।

खालिङ-नेपाली-अँग्रेजी शब्‍दकोश प्रकाशनको निम्‍ति सधैं उत्‍साह दिनुहुने सोलुखुम्‍बु जिल्‍ला, बासा गा.बि.स. ४ बस्‍नु हुने भू.पू. गा.वि.स. अध्‍यक्ष (हाल वेलायत) श्री विष्णुभक्त खालिङ राई, टंक बहादुर खालिङ राई, तथा भू.पू. एस.पी. श्री छत्रमान खालिङ राई ज्‍यूहरूलाई धन्‍यवाद दिन चाहान्‍छौँ।

त्‍यसैगरी एस.आई.एल.इन्‍टरनेश्‍नल संस्‍थाका सदस्य श्री सुएयोसी तोबा तथा श्रीमती ईङ्‌ग्रीड तोबा ज्‍यू द्वयले खालिङ भाषाप्रति अभिरूची मात्र देखाउनु भएन कि उहाँहरूले चार दशक भन्‍दा बढि समयसम्‍म पनि यो भाषालाई निरन्‍तर माया गरिरहनु भयो र यो शब्‍दकोश निर्माण गर्न महत्‍वपूर्ण योग्‍दान दिनुभयो। साथै उहाँहरूप्रति खालिङ समुदायको तर्फबाट धन्‍यवाद दिन चाहन्‍छौँ। यो शब्‍दकोश प्रकाशन गर्न विशेष सुझाब दिनुहुने बुप्‍सा, जुभिङ, वाकु, हाकुला, चेमदु, काकु तथा बासाका खालिङ दाजु भाइ, दिदी बहिनीहरूप्रति पनि आभार व्‍यक्त गर्दछौँ। श्रीमती चारमाया राई, भिम खालिङ र कुमार खालिङहरूले खालिङ भाषाको शब्‍दहरू संकलन गर्नमा सहयोग गर्नुभएकोमा उहाँहरूलाई पनि धन्‍यवाद दिन चाहान्‍छौँ।

भाषाविज्ञान केन्‍द्रीय विभाग-त्रिभुवन विश्‍वविद्यालयका प्रमुख प्रा. डा. दानराज रेग्‍मी ज्‍यू तथा प्रा. डा. नोवल किशोर राई ज्‍यूले यस खालिङ-नेपाली-अँग्रेजी शब्‍दकोशमा आफ्‍नो मन्‍तव्‍य दिनु भएकोमा हार्दिक धन्‍यवाद ज्ञापन गर्दछौँ। एस. आई. एल. इन्‍टरनेश्‍नल संस्थाका सदस्य श्री स्‍टिभ स्‍मिथ र श्रीमती मरिसिस्‍को खड्‌की तथा कर्मचारी श्री दिवाकर मान श्रेष्‍ठ ज्‍यूहरूलाई यो शब्‍दकोश निर्माणको क्रममा प्राविधिक सहयोग गरी दिनुभएकोमा उहाँहरूलाई धन्‍यवाद दिन चाहन्‍छौँ।

एस.के. खालिङ

संस्‍थापक तथा कार्यकारी निर्देशक

नेपाली राष्‍ट्रिय भाषाहरू संरक्षण संस्‍था

ललितपुर, नेपाल।