शब्द मानव–चेतनाको अभिव्यक्ति हो र शब्द–संयोजनबाटै भाषा निस्केर समाज विकासमा बौद्धिक आधार बन्न पुग्दछ। यस्तै शब्द–संयोजनबाट निसृत भाषा नै ल्होवा भाषा हो जुन धौलागिरि अञ्चल, मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ या ने की 'ॱलो छु धुन' क्षेत्रमा बसोवास गर्ने ल्होवा (ल्होपा) समुदायले बोल्ने गर्दछ। आदियौंदेखि ल्होवा (ल्होपा) भाषा कथ्यको रूपमा मात्र प्रयोग भए तापनि अहिलेको समयमा कथ्यले मात्र भाषा जोगाउन कठिन अवस्था सृजना भएको छ। यस्तो अवस्थामा भाषालार्इ लेख्य रूप दिनु जरूरी भएको अवस्थामा यसको लेख्य परम्पराको विकास भर्खर–भर्खर हुँदैछ। ल्होवा (ल्होपा) को आफ्नै महिमा, गरिमा र इतिहास छ। ल्होवा (ल्होपा) समुदायले यसलार्इ औधि माया गरेको पाउछौं। यो भाषा भोट–बर्मेली परिवारमा पर्दछ। ल्होवा (ल्होपा) भाषालार्इ स्थानिय भाषामा 'लोके' (Loke) भनिन्छ। भाषा जाति पहिचानको वैज्ञानिक आधार हो। भाषा लोप भएमा जाति पहिचान सङ्कटमा पर्दछ। यस भाषाले राज्यबाट वास्ता पाउन सयौं वर्ष सङ्घर्ष गर्नु पर्यो र अझै गर्नु परिरहेको छ। ल्होवा (ल्होपा) भाषाको विकास हुंदै जानुको सट्टा राज्यको भाषिक नीति तथा अन्य शक्तिको भाषाहरूको चपेटामा परेर यो भाषा हराउँदै जाने हो की भन्ने चिन्ता ल्होवा जातिको पुर्खाहरूमा भएको यी भनाइले–'फायु पाङना फाके ॱमापाङ’ (मातृभूमी छोडन परे तापनि मातृभाषा नछोडनु) स्पष्ट आभाष हुन्छ। भाषा विकासको मेरुदण्ड शब्दकोश हो। यसलार्इ आत्मासात गरी यस्तो गरिमामय इतिहास बोकेको ल्होवा भाषाको शब्द र प्रचलित शब्द सम्भव भएसम्म भाषिकाहरू समेत समावेश गर्ने मनसायले त्रिभाषिक 'ल्होवा (ल्होपा)–नेपाली–अंग्रेजी' शब्दकोश निर्माणमा अगुवाइ यस संस्थाले गरेको हो। यस कार्यमा यो संस्था गर्व–अनुभूति गर्दछ।
यो शब्दकोश सम्पादन गर्ने लोमन्थाङ निवासी रीन्जीङ ल्होवा (गुरूङ) आफ्नो पढाइको व्यस्तताका बावजुद पनि आफ्नो भाषा समुदायको लागि भनेर दिनरात मेहनत गरी यी शब्दहरू सम्पादन गर्नु भयो। उहाँको आफ्नो भाषा प्रतिको माया, ममता, निरन्तर मेहनत, लगनशीलता र धैर्यता कै उपज हो यो शब्दकोश।
शब्दकोश त्यतिखेर बन्छ जब शब्दहरू संकलन हुन्छ। यो शब्दकोशको लागि 'लो छु धुन' का गाउँ गाउँ गएर त्यस गाउँमा बसेर शब्दहरू संकलन गरी ल्याउने नीमा ढोका गुरूङ (ल्होवा), दीक्की वीष्ट (ल्होवा), सोनाम ढोमा गुरूङ (ल्होवा), कारसाङ गुरूङ (ल्होवा) हरूको पनि यो शब्दकोश बन्नमा अमुल्य योगदान छ। विभिन्न गाउँ अनुसार कुनै शब्दहरू फरक हुने भएकोले 'ॱलो छु धुन' को प्रत्येक गाउँमा बोलिने शब्दहरू पनि नछुटोस भन्ने हेतुले प्रत्येक गाउँबाट पनि भाषा विज्ञहरू बोलाएर शब्दहरू समावेश गर्ने प्रयास गरिएको छ। उहाँहरूको नाम पनि यहाँ उल्लेख गर्नै पर्दछ।
शब्दकोशको तयारीमा विभिन्न तालिमहरू संचालन गर्ने र यसको लागि प्राविधिक सहयोग गर्ने त्रिवि भाषा विज्ञान विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, एस आइ एल इन्टरनेश्नल तथा आजउरा प्रतिष्ठानलार्इ धन्यवाद दिन चाहन्छौं।
शब्दकोश निर्माणमा निरन्तर सहजकर्ताको भूमिकामा रहेर सेवा गर्ने श्रीमति छिङचिप्पा ल्होमी ज्यू पनि धन्यवादको पात्र हुनुहुन्छ। साथै शब्दकोश निर्माणमा प्राविधिक सहयोग गर्नु हुने एस आइ एल इन्टरनेश्नलका सदस्य वा भाषा विज्ञ मारिसिस्को खड्गी र कर्मचारी श्री दिवाकर मान श्रेष्ठ ज्यूहरूलार्इ धन्यवाद टक्र्याउन चाहन्छौं।
यो शब्दकोशमा आफ्ना महत्वपूर्ण मन्तव्य दिनु भर्इ शब्दकोशको गरिमा अझ बढाइ दिनु भएकोमा सम्मानिय मुस्ताङ राज परिवार तथा लो छु धी़न ल्होपा संघको अध्यक्ष नोर्बु आङचुक ल्होवा (ल्होपा) लार्इ पनि हार्दिक कृतज्ञता प्रकट गर्दछौं। साथै शब्दकोश निर्माणको क्रममा महत्वपुर्ण योगदान दिनु हुने सम्पुर्ण ल्होवा (ल्होपा) समुदायलार्इ धन्यवाद दिन चाहन्छौ।
अन्त्यमा, यस शब्दकोश प्रकाशन गर्नको लागि आर्थिक सहयोग प्रदान गर्ने आजउरा प्रतिष्ठान र प्रतिष्ठानको प्राज्ञिक तथा अनुसन्धान महाशाखा प्रमुख डा. लाल–श्याँकारेलु रापचा ज्यूलार्इ हार्दिक धन्यवाद दिँदै सम्पूर्ण ल्होवा (ल्होपा) समुदायलार्इ समर्पण गर्न चाहन्छौं।
साङ्बु नुप्पा ल्होमी
परियोजना लिडर
हिज नेपाल
बौद्ध, काठमाडौं नेपाल