प्रा. डा. दानराज रेग्मी

नेपाल एक जटिल जातिभाषिक विविधता भएको देश हो। यहाँका आधा भन्दा बढी भाषा र भाषिकाहरू असुरक्षित वा लोपोन्मुख अवस्थामा छन्। नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ। नेपालमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने मात्र नभई आफ्नो भाषा, लिपि, संस्कृति र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक पनि प्रदान गरिएको छ। यसै सन्दर्भमा नेपालको मध्य-पूर्वीय तराई क्षेत्रका थारू समुदायले मातृभाषाको रूपमा प्रयोग गर्ने मध्य-पूर्वीय थारू भाषाको नेपाली-थारू द्वयभाषिक शब्दकोश सम्बन्धित भाषिक समुदायको सहभागितामा निर्माण भई मातृभाषा केन्द्र, नेपालको तर्फबाट प्रकाशन हुनु अति नै सराहनीय काम हो। यस अवसरमा भाषाविज्ञान केन्द्रीय विभागका तर्फबाट मध्य-पूर्वीय थारू भाषा समुदाय, मातृभाषा केन्द्र, नेपाल लगायत प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबै प्रति शुभकामना व्यक्त गर्न चाहन्छु।

मध्य-पूर्वीय थारू जस्ता नेपालका भाषाहरूको संरक्षण, विकास तथा मातृभाषामा आधारभूत शिक्षाका लागि आवश्यक पर्ने सामग्रीको निर्माणका लागि आधिकारिक शब्दकोश अपरिहार्य रहेको अवस्थामा तेह्र हजार शब्दहरूको मूल प्रविष्टि भएको र अर्थतात्विक क्षेत्रका आधारमा द्रुत शब्द सङ्‍कलन पद्दति अपनाई सङ्कलन गरिएका एक्‍काइस हजार जति शब्दहरूलाई आधुनिक कोशविज्ञानका आधारभूत विधि अनुसार प्रविष्टि गरी निर्माण गरिएको यो शब्दकोशले भाषाको प्रयोग क्षेत्रको विस्तारमा ठूलो भूमिका खेल्ने कुरामा दुईमत हुन सक्दैन। मध्य-पूर्वीय थारू समुदायका सबै उमेर समुहका व्यक्तिले यस भाषालाई मौखिक रूपमा प्रयोग गर्ने र बालबालिकाले पनि पहिलो भाषाको रूपमा सिक्ने गरेको पाइन्छ। तथापि नेपाली समाजमा अङ्ग्रेजी र नेपाली भाषाको बढ्दै गइरहेको प्रकार्यात्मक भूमिकाका कारणले यस भाषाको प्रयोग क्षेत्रमा सङ्‍कुचन देखापर्न थालेको पाइन्छ।

यस तर्फ मध्य-पूर्वीय थारू भाषिक समुदाय, भाषावैज्ञानिक र सरकार समयमै सजग हुनु जरुरी छ।

नेपालमा सबै भाषाहरूको वैज्ञानिक अध्ययन भइसकेको पनि छैन। नेपालमा धेरै भाषाहरू सङ्‍कटापन्‍न अवस्थामा छन्। लोकतान्त्रिक सरकारले यस्ता भाषिक समुदायका तर्फबाट गरिएका प्रयासलाई प्राविधिक तथा आर्थिक रूपमा सहयोग गर्नु आवश्यक छ। नेपालका भाषाको सर्वेक्षण गराई समाजभाषिक स्थितिको पहिचान गर्ने, लिपिको विकास गराउने, भाषाको अभिलेखीकरण गराउने र शब्दकोश र व्याकरणको निर्माण गर्ने जस्ता कुरामा सबै भाषिक समुदाय र सरकार गम्भीर हुनु पर्दछ। वर्तमान अवस्थामा हरेक सङ्‍कटापन्‍न भाषिक समुदाय भित्रबाट नै भाषाविज्ञको उत्पादन हुनु राम्रो हुन्छ। यस्ता भाषाविज्ञको मार्गदर्शनमा मात्र हरेक भाषामा अन्तर्निहित जीवनका लागि नभई नहुने ज्ञान (life crucial knowledge) को पुस्तान्तरणका लागि प्रभावकारी अभिलेखीकरण गर्न सकिन्छ र भाषालाई जीवन्त राख्ने हरेक प्रयासलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सकिन्छ। यसै दिशामा मातृभाषा केन्द्र नेपाल र मध्य-पूर्वीय थारू समुदायले आगामी दिनमा पनि यस भाषाको विकासका लागि अझ गहन कार्यका लागि निरन्तरता दिनेछन् भन्‍ने अपेक्षा गर्दछु। यस द्वयभाषिक शब्दकोशले मध्य-पूर्वीय थारू भाषा र संस्कृतिको संरक्षण, संवर्धन र विकास गर्न ठूलो योगदान पुर्‍याओस् भन्‍ने शुभकामना व्यक्त गर्दछु।

 

प्रा. डा. दानराज रेग्मी

विभागीय प्रमुख तथा निर्देशक

नेपालको भाषिक सर्वेक्षण