तामाङ समुदायले बोल्ने भाषालाई तामाङ भाषा भनिन्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा अस्तित्वमा रहेका १२३ भाषाहरूमध्ये ५.१ प्रतिशत वक्ताको संख्या रहेको तामाङ भाषा पाँचौ स्थानमा पर्दछ। नेपालमा बोलिने भोट–बर्मेली भाषा परिवारअन्तर्गत तामाङ भाषाले पहिलो स्थान ओगटेको देखिन्छ। काठमाण्डौं उपत्यका वरिपरिका पहाडी जिल्लाहरूमा तामाङ भाषिक समुदायको बाहुल्यता रहेको पाइन्छ। यसैगरी मुलुकभरका अन्य जिल्लाहरूमा पनि तामाङ भाषिक समुदाय अनेक कारणले छरिएर रहेका छन्। तामाङको मौलिक विशेषताहरूको पहिचान गरी नेपाल सरकारले तामाङलाई २०५८ मा आदिवासी जनजातिको रूपमा सूचीकृत गर्दै तामाङले बोल्ने भाषालाई ‘नेपालको अन्तरिम संविधान २०६३’ र ‘नेपालको संविधान २०७२’ ले राष्ट्रभाषाको मान्यता प्रदान गरेको छ।
दोःरा गीतले पश्चिमी तामाङहरू तिब्बतको ‘सामे’ भन्ने स्थानबाट तल–तल आउँदै नेपाल प्रवेश गर्दा कुन कुन स्थान हुँदै हालको अवस्थामा आए भन्ने कुराको जानकारी दिन्छ। त्यसैगरी बोम्पो र लम्बुको ‘र्हीर्हप्’ले तल ‘ग्यागर्देन्’ बाट माथि सामेसम्म कता–कता तामाङ बस्तीहरू थिए र छन् भन्ने कुराको जानकारी दिन्छ। लामा, बोम्पो र लम्बुहरूको भनाइअनुसार पृथ्वीको पुच्छर माथी उत्तरतिर र टाउको तल दक्षिणतिर पर्दछ। त्यसैले तामाङहरू मरेपछि जलाउन लाँदा माथितिर लगिन्छ र चितामाथि लासको टाउको दक्षिणतिर पारेर जलाइन्छ। यसबाट पनि तामाङहरू माथिबाट नै नेपाल प्रवेश गरेका हुन् भन्ने कुरा प्रमाणित हुन्छ। ‘सामे’ को अर्थ ‘पृथ्वीको पुच्छर’ हो किनभने ‘सा’ भनेको ‘पृथ्वी’ र ‘मे‘ भेनेको ‘पुच्छर’ हो। पुच्छरबाट टाउकोतिर सर्दै आउँदा तामाङ भाषामा थुप्रै परिवर्तनहरू हुँदै आए।
तामाङ समाजमा व्याकरण विना तामाङ भाषाको प्रयोगमा स्वतन्त्रता हुँदा तामाङ भाषामा क्षेत्रीय भेद देखा पर्दै आयो। फलस्वरूप, ‘पूर्वीय तामाङ भाषा’ र ‘पश्चिमी तामाङ भाषा’ को विकास हुँदै आयो। रसुवा जिल्लाको लाङटाङ हिमालबाट बग्दै आएको त्रिशुली नदीदेखि पूर्वका जिल्लाहरूमा बोलिने तामाङ भाषालाई ‘पूर्वीय तामाङ भाषा’ भनियो र त्रिशुली नदीदेखि पश्चिमका जिल्लाहरूमा बोलिने तामाङ भाषालाई ‘पश्चिमी तामाङ भाषा’ भनियो। यसकै आधारमा पूर्वको तामाङलाई पूर्वेली (स्यार्ब) भनियो र पश्चिमको तामाङलाई पश्चिमेली (न्हुप्प) भनियो। पश्चिमेली (न्हुप्प) तामाङहरूले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, चितवन, कञ्चनपुर लगायतका जिल्लाहरूमा आफ्नो मातृभाषाको प्रयोग विभिन्न प्रयोजनका लागि गर्दै आएका छन्।
दोःरा, बोम्साङ्, वर्वर्, साइकोले, म्हेन्दोमाया जस्ता चर्चित गीतहरू, स्ह्यामा, फुखी, क्रखी, ग्या जस्ता सुन्दर पोशाकहरू, धर्ममा बौद्ध, बोन्, पर्वमा ल्होछार, संस्कारमा गेवा, छेवार, सल्, वङ्तेखोन्सोरोङ्, सहनुभूतिमा ओन्छ्याङ्!, सम्बोधनमा ल्हासो!, फ्याफुल्ला! जस्ता शब्दहरूको प्रयोगमा पश्चिमी (न्हुप्प) तामाङको सुहाउँदो पहिचान छ। उक्त पहिचानका ज्ञाताहरू भनेका लामा, बोम्पो, लम्बु, पोम्पो, ताम्बा र बाजे बजैहरू नै हुन्। उनीहरूबाट सिकेका शब्दहरू सँगाल्दा बनेको यो सुन्दर कृति यही शब्दकोश हो। पश्चिमी तामाङ भाषाको शब्दकोशको इतिहास हेर्दा अजितमान तामाङको ‘तामाङ ग्योत्ला ग्याम् छेबुम्’ (२०५१), धनम तामाङको ‘तामाङ शब्दकोश’ (२०७०), अमृत थोकर तामाङको ‘तामाङ नेपाली शब्दार्थ’ (२०७०) पछि यो चौथो पश्चिमी तामाङ शब्दकोशको रूपमा प्रस्तुत छ।
पहिलो, दोस्रो र तेस्रो शब्दकोशहरू व्यक्तिगत प्रयासमा निर्माण भएका हुन् भने यो चौथो शब्दकोश रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, चितवन र कञ्चनपुरका तामाङ भाषीहरू, MTCN का निर्देशक सुशील सुब्बा, भाषाविद डा. नेत्रमणी दुमीराई, SILN का सहजकर्ता मारिसिस्को खड्की, दिवाकर मान श्रेष्ठ आदिको संयुक्त प्रयासमा निर्माण भएको छ। यस शब्दकोशमा मूल शब्द वरिपरिका आकार, इकार, ओकार र अक्षरमा घटबढ भएका शब्दहरू पर्यायवाचीको रूपमा राखिएको छ। त्यसैले यो शब्दकोश पश्चिमी तामाङका लागि अत्यन्त बोधगम्य छ। तामाङ शब्दको अनुवाद नेपालीमा पनि दिएको हुनाले पूर्वेली तामाङ र नेपाली भाषा जानेकाहरूले पनि यो शब्दकोश सहजै अध्ययन गर्न सकिन्छ।
पश्चिमी तामाङ भाषामा रूची राख्ने जो कोही अनुसन्धाता, कलाकार, पत्रकार, साहित्यकार, सञ्चारकर्मीले पनि यस पुस्तकबाट लाभ हासिल गर्न सक्दछ। साहित्यिक विधाहरू पश्चिमी तामाङ भाषामा कमै मात्र रचिएको पाइन्छ। विशेषगरी पश्चिमी तामाङ भाषा लोकगीत, उखान र लोककथामा बढी प्रयोग गरिएको पाइन्छ। हाल आएर अङ्ग्रेजी र नेपाली भाषाको प्रभावले तामाङ भाषाको वक्ताको संख्यामा कमी आउँदैछ। पश्चिमी तामाङ भाषाले सञ्चारको क्षेत्रमा र विद्यालयमा पठनपाठनको विषयको रूपमा प्रवेश नपाउँदा नयाँ पुस्ताका वक्ताहरू गुमाउनु परेको छ। यो स्थितिमा पश्चिमी तामाङ भाषा जोगाउने दायित्व पनि पश्चिमी तामाङ भाषीहरूकै हो। अवसरको नाममा आफ्नो मातृभाषा बिर्सेर अन्य भाषा मात्र सिक्ने र बोल्ने हो भने पश्चिमी तामाङ भाषा इतिहासमा मात्र सीमित रहन बेर लाग्दैन। यसर्थ पनि यो शब्दकोश पश्चिमी तामाङ भाषाको एउटा लिखित दस्तावेज हो। यसले तामाङ भाषालाई विविध क्षेत्रीय भेदहरूमा विचलन हुनबाट जोगाउँछ।
अन्तमा यस शब्दकोशमा संशोधन, परिमार्जन र शब्दहरू थपघटको प्रशस्त सम्भावनाहरू रहेका छन् र सरोकारवाला तामाङ पाठकहरू, संघसंस्थाहरू, साहित्यकारहरू, कलाकारहरू, सञ्चारकर्मीहरू आदिले यसको विस्तार र परिपक्वतामा थप योगदान पुर्याउनु जरूरी छ भन्दै सबै विज्ञ पाठक, समीक्षक तथा समालोचकहरूका रचनात्मक सुझाव तथा प्रतिक्रियाको अपेक्षा समेत गरिन्छ।
तामाङ साहित्यकार
धनम तामाङ
देउराली –८, नुवाकोट