प्रकाशकीय

बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विषयवस्तु तथा पृष्ठभूमिले भरिएको विविधतायुक्त यो देशमा विशिष्टताहरूको पहिचान, स्थायित्व र विकासलाई अझै पनि चित्तबुझ्दो रूपमा आत्मसात गर्न पाइएको छैन । आफ्नो छुट्टै भाषा, संस्कृति, रीतिरिवाज, रहनसहन र पहिचान भएका धेरै आदिवासी जनजातिहरूमध्ये ५९ जनजातिहरूमात्रै सूचीकृत भएका छन् । बहुविशेषताले भरिएको देशलाई बहुल पहिचानले गरिमायुक्त बनाउन आफैंमा एक ठूलो चुनौति रहेको छ । राज्य संरचनाले सङ्क्रमणकालीन अवस्थालाई पार गरेर ज्वारभाटाहरू सेलाउन कम्तिमा पनि दुई दशक चाहिँ लाग्न सक्छ भन्ने विज्ञहरूको अनुमान छ । जाति जनजातिहरूको पुरानो इतिहासले खोजिबसेको जवाफदेहितालाई प्राथमिकीकरण गर्नु राजनीतिक धर्म बन्दै गएको छ । वर्तमान तरल राजनीतिक अवस्थामा धेरै पहिचानहरू परिवर्तित तथा परिमाजिर्त हुँदै पनि गइरहेका छन् । यसै सन्दर्भमा जनजातिहरूको भाषा विकास र संरक्षणको कार्यले त्यही ऐतिहासिक मूल्य मान्यतालाई टेवा दिने काम गर्न सक्छ ।
मातृभाषा केन्द्र नेपालले विभिन्न भाषाहरूको विकासका कामहरू गर्ने प्रयास अन्तर्गत संखुवासभा जिल्‍लामा मूलरूपमा बोलिने याम्फू भाषाको शब्दकोश निर्माण तथा प्रकाशन गरेको छ । भाषाको काम शिक्षा, सूचना र पहिचानसँग जोडिन आउँछ । त्यसैले यस्तो काम सामुदायिक विकासको काममा सहभागिता जनाउने काम पनि हो । याम्फूभाषीहरू मूलरूपमा संखुवासभाको उत्तरी क्षेत्रमा रहेका भएपनि धनकुटा र इलाम लगायत अन्य जिल्‍लाहरूमा पनि धेरै पहिलेदेखि नै बसाइसरी उल्‍लेख्य सङ्ख्यामा बसोबास गर्दै आएका छन् । बसाइँसराइको कारण याम्फू भाषामा छिमेकी भाषाहरूको मिलिजुली व्यवहार र आदान प्रदानका छनकहरू देख्न पाइन्छ । त्यस्तो हुनु स्वाभाविक नै हो । विशेषगरी देवीटार र धनकुटा क्षेत्र अनि हेदाङ्‍ना-नूम र उत्तरी भेगका क्षेत्रीय भेदहरूका कारण समस्त याम्फूभाषीहरूमाझ धेरैभन्दा धेरै भाषिक छलफल गर्ने गराउने माध्यमहरूको सिर्जना गरिरहनु पर्ने आवश्यकता छ । सम्भवतः यो शब्दकोशले त्यो आवश्यकतालाई थोरैहद भएपनि पूरा गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ ।
शब्दकोशमा शब्दहरूको निश्‍चित अर्थ, त्यसको प्रारम्भिक चिनारी, प्रकृति र वर्ग आदि कुराहरूलाई एकमुस्ट मिलाएर भण्डारन गरिएको हुन्छ । कुनै बेला एउटा शब्दको सिधा एउटा अर्थ लाग्छ, भने कुनैकुनै बेला धेरैवटा शब्दहरूको गुच्छा मिलेर ती प्रत्येक शब्दभन्दा छुट्टै किसिमको अर्थ पनि दिन्छ । यसर्थ शब्दकोश शब्दहरूको अर्थ र महत्त्व झल्काउने शब्दखानी हो । शब्दकोशमा भएका शब्दहरूलाई साहित्य सिर्जना र सङ्कथनको निम्ति निरन्तर प्रयोग गरिने हो भने भाषा अत्यन्तै रसिलो र बहुमूल्य रत्न हुन पुग्छ । त्यसबेला यो प्रारम्भिक चरणको शब्दकोशको प्रकृति भाषिक समुदायको जनइच्छाअनुसार अपुग बन्न पुग्छ । फलस्वरूप अरू नयाँ प्रकृतिका शब्दकोशहरूको जन्म हुनसक्छ । तर भाषालाई सिर्जनातर्फ काम लगाइएन भने किताब आफैले चाहि केही गर्ने छैन । यसको महत्व साँघुरिँदै ज्यादै सीमित भएर जान्छ र कालान्तरमा महत्त्वहीन पो बन्न पुग्छ । तर त्यसो हुनुभन्दा अघि नै शब्दकोशको व्यावहारिक पक्ष र यसको प्रयोगलाई भाषिक समुदायले निरन्तर ध्यान पुर्‍याउनु पर्छ ।
अन्त्यमा, यस याम्फू-नेपाली-अङग्रेजी त्रिभाषीय शब्दकोश निर्माणमा परिश्रम गर्ने व्यक्ति, संस्था र भाषिक समुदायलाई धेरै-धेरै धन्यवाद दिँदै यस शब्दकोशले याम्फूभाषी समुदायको सर्वाङ्गीण विकासमा सहायता पुर्‍याउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु । धन्यवाद !

सुशील सुब्बा
निर्देशक
मातृभाषा केन्द्र नेपाल
धोबिघाट, ललितपुर