मूल थलो र मातृभाषा
प्रा.डा. नोबल किशोर राई
पाँचथर, रवि – ७
लगभग दुई सय पचास बर्ष अघि नेपाल एकिकरणको गोर्खा अभियानबाट मेरा पूर्खाहरू आफ्नो मूलथलो मझुवा-लफेङ (खोटाङ)बाट विस्थापित भएका थिए। म चाम्लिङ राई हुँ र मेरो पाछा लाफियोङछा/लाफेङछा हो। राजनैतिक वा आर्थिक कारणबाट अधिकांश किरातीहरू पूर्वतिर नै लागेका देखिन्छन्; मुगलान पस्न, चिया टिप्न, पल्टनमा भर्ती हुन वा ज्याला-मजदुरी गर्न। मेरो पुर्ख्यौली गनेर ल्याउदा आज म नवौं पुस्तामा पर्दोरहेछु, मझुवा खोटाङ छाडेको। पाँचथर र इलामको अनेकौं ठाउँहरूमा यसरी नै राईहरू आफ्नो मूलथलोबाट विस्थापित भइ नयाँ ठाउँमा स्थापित हुन पुगेका छन्। इलाम र पाँचथरको लगभग सीमाना भएर लमतन्न तन्किएको महाभारत डाँडामा रवि गाविस अवस्थित छ। औंसी-पूर्णेका दिन गोरू जोत्न नहुने चलनले यी दिनहरूमा सबैजसो स्थानीय मानिसहरू यो महाभारत डाँडामा निस्केर रमरमाइलो गर्ने गर्दथे उसबखत। किरातीहरू छेलो हान्थे, लाप्पा खेल्थे, खोप्पी खेल्थे, तारो हान्थे अनि डन्डिबियो खेल्थे भने किरातिनीहरू सेलरोटी पोल्थे अनि जाँड-रक्सी बेच्ने गर्दथे, औंसी-पूर्णे बार्ने दिनहरूमा। यो ठाउँमा बान्तावा, चाम्लिङ, खालिङ, थुलुङ, कुलुङ, सामपाङ, कोयु आदि थुप्रै थरका राईहरूको बसोबास छ, तर सबैको मातृभाषा भने बान्तावा नै छ। केही बर्ष अघिसम्म त्यहाँका राईहरूले बान्तवा मात्रै 'राई भाषा' का रूपमा थाहा पाएका थिए। आफ्नो मूल थलोमा अन्य राई समुदायका भाषाहरू मातृभाषाका रूपमा बोलिन्छन् भन्ने ज्ञान पनि थिएन उनीहरूलाई।
यसरी समय बितिरहेको थियो। एकजना किराती जसको नाम रबिकर्ण राई भन्ने रहेछ सो ठाउँमा। उनी राङ्कासु (रङ्कासु) राई रहेछन्। उनले त्यो रमाइलो गर्ने डाँडाको नाम आफ्नै नामसँग जोडेर 'रवि' भनेर जुराएछन् लगभग डेढसय बर्ष अघि। त्यहाँ बिस्तारै हाट लाग्न थाल्यो अनि पहाड-मधेश झर्ने मूलबाटो पनि त्यही भएकाले चाँडै नै त्यो ठाउँको बस्ती बाक्लो पनि भयो र आजभोलि 'रवि बजार' भनेर चिनिन्छ पनि। हिजो-अस्तिसम्म 'राङ्कासु' 'दुमी' थरभित्रको एउटा पाछा हो भनेर कसैलाई थाहा थिएन। त्यसरी नै सोत्माली राईहरू 'सत्म' हुन् र उनीहरू पनि दुमी नै हुन् भन्ने आजसम्म सुझेको छैन। पूर्वका राईहरू (पाँचथर/इलाम/दार्जीलीङ/सिक्किम) ले आफ्ना मातृभाषाका रूपमा बान्तावा बोल्दछन् अथवा नेपाली अँगालेका छन्। म स्वयम चाम्लिङ भएतापनि मेरो मातृभाषा भने बान्तावा हुन पुगेको छ।
अब कुरा आयो दुमी भाषाभाषीको - काठमाण्डौ आएर बसेपछि दुमी राईहरूसँग सङ्गत भयो; हाम्रा रविकर्णको सक्कली पहिचान पनि 'दुमी' नै रहेछ भन्ने थाहा पाएर झन खुशी लाग्यो मलाई। केहि बर्षअघि दुमी भाषाभाषी मित्रहरूले संस्था स्थापना गरेर आफ्नो भाषा संस्कृतिमा केही गर्ने जमर्को गरेका रहेछन्। एकदिन मेरा सहकर्मी प्रा. डा. माधव प्रसाद पोखरेल र मलाई दुमीहरूले आफ्नो संस्थाको कार्यालयमा निम्त्याएर आफ्नो भाषाका बारेमा कार्यक्रम पनि गरे। दुमी शब्दकोश र व्याकरण तयार पार्ने मनसाय पनि रहेछ दुमीहरूको। दुई-चार दिन खेताला लागेपछि हामीले प्रस्ताव राख्यौं 'किन दुमीभाषीहरू आफै नै भाषाविज्ञानको अध्ययन गर्न नकस्सिने?' साँच्चै नै यस संस्थाका महासचिव नेत्रमणि जी आफै जुर्मुराउनु भयो।
राईहरूको एउटा सानो समुदायबाट गणित विषयमा स्नातकोत्तर गरेर क्याम्पसहरूमा लामो समयसम्म अध्यापन गराइरहेका नेत्रजी फेरि विद्यार्थी भएर भाषाविज्ञानको कक्षामा बसेर अर्को एम. ए. गरे। अर्को दुमीभाषी तेजमाया राईले पनि यसै विषयमा एम. ए. पूरा गर्ने क्रममा छिन्। यी दुमीभाषी भाषाविज्ञानका शोधार्थीहरूले नै आफ्नो भाषाको विषयमा अनेक अध्ययन-अनुसन्धान गर्नेछन् भन्ने कुरामा विश्वस्त हुने ठाउँ छ। आज मेरो हातमा नेत्रजी र तेजमायाको समिप संलग्नतामा तयार हुन लागेको दुमी शब्दकोश हेर्दा मन त्यसै त्यसै रमाएको छ। आफ्नो मातृभाषामा स्वभाषीहरूको पौरख जागेको पाउँदा गौरव पनि लागेको छ।
शब्दकोश निर्माण गर्ने काम अत्यन्त झन्जटिलो धन्दा हो। यो काम अलिअलि विज्ञान र अलिअलि कला पनि हो। भोलिको दिन गनेर ल्याउदा यो एउटा इतिहास पनि हो। सय-पचास बर्षपछि खोटाङमा कति दुमीभाषी रहने हुन् र दुमी भाषाको अवस्था कस्तो हुने हो भनेर सम्झदा शब्दकोश निर्माण र व्याकरण लेखन 'जंगे पिलर' खडा गरेर छाड्नु जस्तै हो। अशिक्षा र गरिवीको चेपारोमा परेका भाषाभाषीहरूको विवशता, सरकारको बेवास्ता र अति द्रुतगतिको भूमण्डलीकरणको पेलाइले संसारभरबाट आदिवासीहरूको सभ्यताहरू विलुप्त हुदै जाने क्रममा दुमी भाषा एक्लो उभिरहन निश्चित रूपमा सक्तैन। यसर्थ आफ्नो भाषा-संस्कृतिलाई माया गरेर यसको संरक्षण र सम्वर्द्धनमा लागिरहेका दुमी राईहरूको यो काम आज होचो देखिएतापनि भोलि अवश्य यसले धरहराको उचाइ लिनेछ र अरूतिर फैलिएर रहेका दुमीहरूका लागि समेत एउटा 'लाइट हाउस' भएर दिशा निर्देश गर्नेछ। हामी सबैलाई ज्ञान भएकै कुरो हो व्यक्ति सधैं खपिरहन सक्तैन तर उसको सुकर्म युगयुगसम्म बाँचिरहन्छ। यसै कारण हामी हाम्रो आयुमा भन्दा काममा बाँचिरहेका हुन्छौँ।
फेरि पनि मलाई यो भन्नै मन लाग्यो- राईहरूको एउटा सानो समुदाय दुमीहरूले काठमाण्डौको अत्यन्त व्यक्तिगत र अति व्यस्त जीवनमा अलिकति समय, जाँगर र साधन-स्रोत जम्मा गरेर 'फन्सीकीम' निर्माण गर्न समर्थ भएका छन्; साना-ठूलाले हातेमालो गरेका छन्। खोटाङको विकट पहराहरूमा अल्झिएर कोपिला हालेको यो दुमी भाषा कान्तिपुरमा फक्रने चाँजो मिलेछ। आज यो सुनाखरीको रूप, रङ्ग र सुगन्ध पहाडी जंगलमा मात्र सीमित रहेन; हाम्रो शहरका घर-आँगनहरूमा पनि झुल्न आइपुगेछ। आफ्नो जन्मस्थान रविमा रविकर्ण राङ्कासुले हुर्काउन नसकेको 'सतबिऊ' यहाँ राजधानीको उद्यानमा रोपिएर हुर्कन लागेको पाउँदा मेरो मन सिमलको भूवाँ भएर 'सिलिचोङ' नाघ्न लागेको अनुभव गर्छु। यो कामका लागि ग्रन्थकारहरूले त स्याबासी पाउने नै भए, तर यो अभियानका पछि बसेर भरथेग गर्ने सबै दुमी र गैरदुमीहरू पनि त्यतिकै धन्यवादका साझेदारी छन् भनी बुझेको पनि छु।
यहाँनेर बुझ्नै पर्ने कुरा के छ भने एउटा चौसर वा भानुभक्तले मात्र अंग्रेजी र नेपाली भाषाको उचाइ यति माथि उठाएका कदापि होइनन्। कुरो के हो भने यो एउटा शब्दकोश वा व्याकरणले मात्र यो भाषाको वर्णन, चित्रण वा अभिलेखीकरण पर्याप्त हुदैन। यहाँ अनेक लेखनाथ, देवकोटा, सम र सिद्धिचरणहरूको उदय भए मात्र दुमी भाषा फैलन र मौलाउन सक्छ, नत्र भने दुमीहरूको भाषा-संस्कृतिको 'दुमो' कोशीहरूमा बगेर हराउन सक्छ। अर्कोतिर, भाषा सधै परिवर्तनशील भएकाले यसको वर्णन, व्याख्या र अभिलेखनले यसलाई पछ्याइरहनु पर्दछ। व्याकरण र शब्दकोशले नदीरूपी भाषालाई थुनेर राख्न सक्दैन; यो त कुनै एक स्थान र समयमा उठाएर राखेको एक अञ्जुली पानी मात्रै हो। यो नदीरूपी भाषाको बगिरहने प्रकृतिसँगै यसका अध्येताहरूले पछ्याउदै जाने काम पनि गरिरहनु पर्दछ।
शब्दकोशको शुरुमा नै यसको प्रयोग गर्ने तरिका सुझाएर दुमी भाषाका सामान्य रूपरेखा पनि दर्शाएर प्रयोगकर्तालाई अरू सघाउ पुर्याउने काम भएको छ। यसले शब्दकोश, शब्दहरूको थुप्रो मात्र नभएर यसमा रहेको व्यवस्थालाई इङ्गित गरेको पनि छ। यो काम भाषाविज्ञानको ज्ञान राख्ने मातृभाषी वा सम्बन्घित भाषाको राम्रो ज्ञान भएका भाषावैज्ञानिकले मात्र गर्न सक्ने काम हो; जुन कुराले यो ग्रन्थ परिपक्व र पूर्ण देखिन्छ। बाँकी पक्ष भाषामा प्रयुक्त सबै शब्दहरू र सबै खाले प्रकृया भने एउटै ग्रन्थमा समावेश गर्न कदापि सम्भव हुदैन। तर्सथ यो शब्दकोश एउटा सीमाभित्र छ र यो सीमा समय सापेक्ष परिवर्तनशील छ। अर्को शब्दमा - यसमा रहेका त्रुटि र अभावहरू समयसँगै निराकरण हुदैजान सक्छन्।
अन्तमा-
यो शब्दकोश जस्तो र जत्रो भएपनि अन्य मातृभाषा र भाषीहरूका निम्ति एउटा उदाहरण हुनसक्छ भन्ने ठानेको छु। खेताला नपर्खेर आफैले जोत्ने, पोत्ने, बाउँसे र रोपाहार भएर रोपाइँ गरिएकाले नै फल पाकेको हो भन्ने लागेको छ। अरूको 'आश' मा 'गाँस' पुग्दैन भनेर आफै लागिपर्नाले नै तपाईंहरू यहाँसम्म आइपुग्नु भएको छ।
तपाईंहरू सबैलाई बधाई !!!
हाल - काठमाण्डौ, २०६८