दुमी शब्दकोश निर्माण
दुमी समुदायको महान् पहिचान
सौभाग्य भनौ या दुर्भाग्य, गाउँमा विशेषगरी बाजेबज्यूहरू दुमीवक्ता प्रशस्त हुँदाहुँदै पनि अधिकांश दुमी गाउँहरूमा दुमीभाषा बोल्ने अभ्यास पातलिदै गयो। मेरो परिवारमा दुमीवक्ता आफ्नै बज्यू हुँदाहुँदै पनि दुमीभाषा बोलिएन। फगत हामी नेपाली भाषी भयौं। यस्तै परिबेश पूरै गाउँभरी नै रह्यो। गाउँका बुढापाकाहरू भोट मधेश गर्थे। मधेशमा मदीशेले पक्कीवात बोल्छ, त्यही पक्कीवातमा घिउले नून साटेको कुरा गर्थे। यो पक्कीवात भनेको हिन्दी भाषा रहेछ भन्ने कुरा पछि मात्र थाहा भयो। गाउँमा लाहुरे काकाहरूले “और वात” “वादमा” “लेकिन” जस्ता शब्दहरू प्रयोग गरेको सुन्दा त्यस्तै बोल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अठार–उन्नाइस सालतिरको कुरो हो, गाउँमा विद्यालय स्थापना हूँदा मलायाको युद्धबाट फर्केका भर्तिवाल बाजेहरूले पढाउन थाले। पढाउने सिलसिलामा राईठन, लेप्ठन, बाउठन, अटेञ्छ, स्टाण्ड इच, क्वीक मार्च जस्ता शब्दहरू प्रयोग गरेर चौतारोमा विद्यार्थीहरूलाई परेड खेलाउँथे। यी शब्दहरू शिक्षकले भनेको हुनाले कम्तीमा जानी नजानी सुनियो, जो अहिले पनि कानमा गुञ्जी रहन्छ। जवान भएपछि एक पटक लाहुर जानुपर्छ भन्ने संस्कृतिमा हामी हुक्यौं। हाम्रा पूर्वजहरूले दुमी भाषालाई यसरी नै निरन्तरता दिएको भए दुमी भाषामा यसरी उजाड हुदैन थियौं होला। यो दुःखलाई सम्झदा भित्रैबाट पछुतो लागेर आउँछ, पीडा बोध हुन्छ।
विद्यालय स्थापना हुनु सभ्यताको बाटो हुँदाहुँदै पनि यसको स्थापनासंगै मौलिक दुमी भाषाको विस्थापनले दुुमी पहिचानलाई पनि संकटमा पुर्याएको कुरालाई नकार्न सकिन्न। यो यथार्थमा आदिवासी जनजातिहरूप्रति राज्यले हेर्ने दृष्टिकोणको अभावको कारण ती समुदायकोे धेरै भाषाहरू आज लोप भएर गएका छन् भने कतिपय लोप हुने स्थितिमा पुगेका छन। दुमीभाषाको स्थिति पनि यही हालतमा रहेको प्रष्ट छ।
‘हिउँ बिलेपनि खार रहन्छ’ भनेझै किरात बोलि हराए पनि लोलीहरूमा प्रशस्तै आफ्नोपन कायम थियो। गइङ्को, खाइङ्, भेटिङको, रुइङ जस्ता नासिक्य लवजहहरू भर्खर स्कूल पसेका कलिला विद्यार्थीहरूका बोलिबाट फुत्कँदा हाम्रा गैर किरात सरहरू पेट मिचिमिचि हाँस्थे र त्यही बोलिमा फेरी गिज्याउन शुरुगर्थे। त्यतिखेर आफूलाई भने लाजमर्नु हुन्थ्यो। अनि लाग्थ्यो, अझ दुमी भाषा बोल्नु भनेको त गँवार र पाखे बन्नु हो। तसर्थ हामीले आफ्नो मातृभाषालाई वास्तै गरेनौ। बाँकी रहेका रीतिरिवाज बुझाउने पुर्खाहरूलाई पनि बेवास्ता गर्नतिर लाग्यौं। मानौ, पुरातन भनेको पुरै प्रतिगामी हो। यी थिए हाम्रा बिगतका तिता अनुभवहरू।
हामी आफ्नो मातृभाषा र संस्कृति विहिन बन्दै गएको भएपनि टुहुराका दिन फर्कन्छन् भनेजस्तो समयले हामीलाई फर्कायो। त्यसैले बिर्सिएको भाषाको पुनउर्त्थान गर्नुपर्छ भन्ने मान्यतालाई अगाडि बढाउने जमर्को गर्यौं। बुद्धि र शीप थिएन, तर आँट र जोश थियो। गन्तव्य थिएन, तर अगाडि बढ्नु पर्छ भन्ने चाहना थियो। यसै सन्दर्भमा २०४३ साल पौष ९ गते नोरङका जगत राई, ससर्काका प्रतिमान राई र म स्वयं दिक्तेलमा भेटहुँदा एक्कासी दुमीको शब्दकोश बनाउने अभुतपूर्व मौखिक निर्णय गरियो। तर थाहा छैन, कसरी बनाउने हो– शब्दकोश। त्यही सालको असोजमा दुमीराईहरूको एउटा भेला रावाखोला र तापखोलाको दोभान फेदीमा राखियो। नोरङ्बाट जगत हलक्सु, ससरकाबाट प्रतिमान र टङ्क हम्रुङ, मालदेलबाट रामकुमार राईचु र चिउरीखर्कबाट नरभक्त सत्म र म स्वयंको त्यस भेलाले दुमी शब्द संकलन गर्ने र एउटा पत्रिका प्रकाशन गर्ने सल्लाह गरियो। त्यसपछि शुरुमा रुख विरुवाहरूको नाम संकलन गर्न थालियो। बृहत नेपाली शब्दकोशलाई आधार मानेर नेपाली शब्दको आधारमा आ–आफ्नो क्षेत्रबाट दुमीभाषाको टिपन कार्यको थालनी गरियो। तत्काल मेरो जागिर दिक्तेल क्याम्पसमा अध्यापन गराउने भएकाले म केन्द्रमा थिएँ र मलाई नै बढी जिम्मेवारी सुम्पिइएको थियो। म आफूले दिक्तेलबाट फुलिसकेपमा शब्दहरू उतारेर पत्र मार्फत पठाउने गर्थेँ भने साथीहरूले त्यसलाई दुमीभाषामा उल्था गरेर म कहाँ पठाउँथे। यस कार्यमा नोरङ्का ईश्वरमान राई, र बिरुमान राईले पनि सहयोग पुर्याएका थिए। शुरुमा नौलो जोश–ज्ााँगरका साथ दुईचरणसम्म यो काम अगाडि बढाउन सकिएतापनि त्यसपछि काम गर्ने शीप, योजना, प्रकृया र संस्थाको अभावमा चाहना हुदाहुदै पनि त्यसलाई निरन्तरता दिन सकिएन।
यस्तैमा सोही वर्ष लेडेन युनिभर्सिटी होल्याण्डका भाषाशास्त्री जर्ज भन्द्रिम को भाषा अध्ययनको सिलसिलामा दिक्तेल आगमनले हामीलाई आफ्नो मातृभाषाको अध्ययनलाई अगाडि बढाउन ठूलो प्रेरणा मिल्यो। भन्द्रिम तत्काल तिलुङ राई भाषाको अनुसन्धान गर्न आएकोमा तिलुङ् राई भाषी नपरेपछि निरास भई काठमाडौं फर्कने तयारीमा पुगेको अवस्थामा म आफूले लोपोन्मुख दुमीभाषाको अध्ययन–अनुसन्धान गर्ने सल्लाह दिएँ। भन्द्रिमलेे पहिले भाषिक क्षेत्र हेर्ने अनि मात्र निर्णय लिने बताएपछि लगत्तै हामी दुवैजना ससर्का, चिउरीखर्क हुँदै बाक्सिला–हल्कुममा लप्टन भीमलसिंह मुरह राईको घरसम्म पुग्यौं। दुमी भाषाको स्थीति बुझिसकेपछि उहाँले दुमी भाषाको अनुसन्धान गर्नेमा पुग्नुभयो र यो भ्रमण फलदायी रह्यो। भन्द्रिमसँगको त्यस भेटले दुमीराईहरूको इतिहासमा पहिलो पुस्तक २०४९ सालमा A Grammar of Dumi प्रकाशन भयो। त्यसमा ७ वटा श्वरहरू र ३६ वटा व्यञ्जनहरू पत्ता लगाउनको साथसाथै दुमी मिथक, अन्तर्राष्ट्रिय व्याकरणीक नियमको आधारमा दुमी व्याकरण लगायत २,४०० भन्दा बढी दुमी शब्दहरू सहितको ‘दुमी शब्दभण्डार’लाई उहाँले प्रकाशनमा ल्याउन सफल हुनुभयो। उक्त पुस्तक प्रकाशन गर्नुअघि २०४३ सालमा मलाई एक हातेपत्र लेख्नु भएको थियो जसमा भनिएको थियो –“हाम्रो पहिलो भेट दिक्तेलमा भगवानको दान जस्तो छ। तपाईको सहायताले श्रीमान भीमल सिङको ज्ञान र दुमी राई भाषाको संस्कृतिक र भाषाविज्ञानिक धन लोप हुँदैन।” यो व्यहोराको पत्र पाउँदा मैले जीवनमा ठूलो खुसीको अनुभूति गरेँ र धेरैलाई यो पत्र देखाएँ पनि। उक्त पुस्तक प्रकाशनपछि केही दुमीहरूको हातमा आइपुग्यो तर अपशोस उक्त पुस्तकलाई अध्ययन गर्ने भाषिक ज्ञान ममा थिएन र अझै पनि छैन। तर पनि दुमीहरूको भाषिक इतिहासमा यसको महत्व बेग्लै छ र आम भाषा वैज्ञानिकहरूको लागि यो एउटा महान अभिप्रेरणाको स्रोत भएको स्वयंशिद्ध छ।
यस्तैमा २०४६ सालको जन आन्दोलनले सफलता प्राप्त गरेपछि आदिवासी जनजातिको चेतनामा अभिबृद्धि हुन गएको फलस्वरुप हामी दुमीहरू पनि संगठित हुन थाल्यौं। २०५० साल बैशाख २३ गते बाक्सिलामा एक बृहत आमसभा बोलाइयो। त्यस भेलाले दुमी भाषा उत्थानको मात्र कुरो अगाडि ल्याएन, एउटा साझा संस्थाको नै स्थापना गर्नु पर्दछ भन्ने मास अभिव्यक्ति उठेपछि दुमी किरात राई फन्सिकिमको गठन त्यही दिन गरियो। यसलाई वैधानिकता दिनका लागि २०५५ साल पौष २२ गते विधिवतरुपमा सदरमुकाम दिक्तेलमा दर्ता पनि गरियो। यसरी दुमी भाषाको खोजिमा लाग्दालाग्दै हामी फन्सिकिमकोे गठनतिर पुग्यौं। अतः हामीलाई दुमी भाषा बचाउको अभियानले दुमी किरात राई फन्सिकिमको स्थापनासम्म पुर्यायो।
हामीले २०५६ सालमा दुमी शब्दकोश निर्माण समिति बाक्सिलामा गठन गरेका थियौंं। तर विविध कारणले गतिलिन सकिरहेको थिएन। तर पनि हौसलापूर्वक शब्दकोश निर्माणको लागि काठमाडौंमा धेरैपटक औपचारिक अनौपचारिक सभा बैठकहरू सम्पन्न गर्दैरह्यौं। यस क्रममा कहिले मेरै कोठा, कहिले बेबिलोन स्कूल त कहिले यसै शब्दकोशका सम्पादक नेत्रमणि राईकै कोठामा धेरैपटक छलफलमा बसेका छौं। तर त्यस समय भाषाविज्ञानमा कोही पनि अनुभवी नभएको कारणले कहाँवाट थाल्ने र कहाँ लगेर टुङ्ग्याउने भन्ने कुरामा हामी अन्यौलमा थियौं। शब्द केलाउन खोज्थ्यौं, तर कोशविज्ञानको मेसो थाहा नभएकाले अलमलिन्थ्यौं। यसैगरी लगभग वर्षौसम्म हाम्रो छलफलहरू निरर्थक सावित भए। यस अघि पनि शब्द निर्माणको बाटो लामो र पट्यारलाग्दो भएकाले होला २०४३ सालदेखि एउटै उद्देश्यमा संगै हिँडेका कतिपय हाम्रा साथीहरूले भूगोल, पेशा, राजनीति, व्यक्तिगत स्वार्थ, अन्य धर्म र आस्थामा परिवर्तन जस्ता कारणहरूले हामीलाई यात्रामा साथ दिन सक्नु भएन। पछिल्लो समय पनि त्यस्तै भयो र हामीमध्ये केही साथीहरू पन्छिन पुग्नुभयो। तैपनि हामी जे जति रह्यौंं खरानी भएनौ, बरु स्पातिलो भयौं। हामीले फन्सिकिमको तर्फबाट भाषिक पत्रिका इसिलिमलाई निरन्तरता दिइरह्यौं। नेत्रजी लगायत मातृभाषाप्रमी दुमी स्रष्टाहरूको पहलमा भाषातर्फका लेखहरू निरन्तर आउँदै रह्यो। हाम्रै दुमीमाझमा भाषाशास्त्रमा कोही जनशक्ति भएमा काम छिट्टो अगाडि बढ्थ्यो भन्ने बारम्बार कुरा चल्थ्यो। नेपालीमा एउटा उखान छ– छोटाको संग नाक कान, बढाको संग गोहपान र शीप ज्ञान भनेजस्तो हामी विस्तारै विद्वानहरूको सम्पर्कमा रहन थाल्यौं। हाम्रो मनसाय र समयको मागलाई बुझेर नै होला हामीलाई भाषाशास्त्री प्रा.डा.नोबल किशोर राई ज्यूले सभा बैठकहरूमा भाषाशास्त्रको विद्यार्थी हुन प्रेरित गर्नुहुन्थ्यो। यसै सिलसिलामा संस्थाका महासचिव नेत्रमणि राईले भाषाशास्त्रमा अतिरिक्त डिग्रीगर्ने कार्यतर्फ अग्रसरता लिनुभएपछि दुमी शब्दकोश निर्माण कार्यले गति लियो।
दुमी शब्दकोश निर्माणको लागि संस्थाले २०६१ सालमा एउटा महत्वपूर्ण निर्णय गर्यो। यो बर्ष दुमीहरूका लागि एउटा महत्वपूर्ण आयाम सावित भयो। त्यसै साल फाल्गुण ९ गते कीर्तिपुरमा भाषाविद द्वय प्रा. डा. श्री नोवलकिशोर राई र प्रा. डा. श्री माधवप्रसाद पोखरेलज्यूहरूको बौद्धिक नेतृत्वमा भएको दुमी किरात राई भाषा ध्वनी तथा वर्णमाला पहिचान कार्यशाला गोष्ठिको अभ्यासले १३ वटा श्वर वर्ण र २५ वटा व्यञ्जन वर्णको पहिचान गर्न सफल रह्यौं। २०६४ मा इसिलिम दशौं अंकदेखि दुमी भाषाकै प्रयोजनका लागि भनी “सुलाम” (मेसो) अंक पनि भाषासम्बन्धी लेखहरूको संगालोको रूपमा समाबेश गर्न थालियो।
हामी आफ्नै हातले दुमीको शब्दकोश निर्माण गर्न चाहन्थ्यौं। जो आज तपाइँ हाम्रोे हात–हातमा छ। २०६४ साल बैशाख २३ गतेदेखि जेठ ६ गतेसम्म खार्मी, जाल्पा, बाक्सिला, सप्तेश्वर, माक्पा आदि क्षेत्रहरूको १७ दिने संस्थागत भ्रमणले श्वाडेस शब्द (सयशब्द) को दुमी पहिचानलाई टुङ्गो लगाउनको साथसाथै संस्थाको संगठन सुदृढिकरण र संास्कृतिक रीति रिवाजहरू तथा दुमी जनसङ्ख्याको तथ्याङ्क संकलन कार्यलाई पनि निरन्तरता दिन सफल रह्यो।
भन्न जत्ति सजिलो छ, तर काम गर्न त्यत्ति नै कठिन छ। शब्दकोश निर्माणको लगाम सम्पादक मण्डललाई लगाइदिएपछि बाँकी सदस्यहरू एक हदमा बौद्धिक कार्यबाट पञ्छिएको जस्तो देखिए पनि व्यवस्थापनतर्फ च्ााँजोपाँजो मिलाउने कुरोमा एक ढिक्का हुनु जरूरी थियो। मुलभूत रूपमा आर्थिक समस्याको पाटो एउटा जीर्ण रोगको रुममा संस्थामा रहिरह्यो। त्यसैले चाडबाड पनि भनिएन, तिहार आयो कि देउसी–भैलीमा रम्न होइन, जोतिन थाल्यौं। धेरै सुभेRIfुक, दाज्यूभाइ र नातागोतालाई समेत दिकदारी बनायौ। संस्थाको लागि केही गर्न सकिन्छकि भन्ने आशयले विदेशमा बस्ने दाज्युभाइ दिदी बहिनीहरू काठमाडौं आएको सुइको पाउनासाथ हात जोड्न पुगिहाल्थ्यौं। कत्तिले वास्तविक हातले सहयोग गरे भने कत्तिले ओठले मात्र। संस्था भनेको माग्नेहरूको भीड हो भन्ने अवस्थामा पुगेको बेला हामी भने दुमी शब्दकोश प्रकाशनलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने वारेमा खुरुन्दार लागी नै रह्यौं ।
फलतः यसै मेहनतले शब्दकोश निर्माण जस्तो महान कार्यलाई सार्थक बनाईछाड्यौं। दुमी राईहरूको इतिहासमा यस्तो शब्दकोश पहिलोचोटी निर्माण भएकाले यस पुुनित कार्यमा लाग्ने सम्पादक, सह–सम्पादक तथा सल्लाहकार मित्रहरूलाई यही शब्दकोशले कालजयी बनाएको छ। दिल–दिमागभित्रैबाट आफ्नो भाषा संस्कृतिको माया गर्नेहरूका लागि त यो शब्दकोश जीवनदर्शन नै हुन सक्नेछ। लाग्छ, यो नौलो अनुपम कृतिलाई हर दुमीजनले माया गरेर पढ्नेछन्। नपढे पनि एकप्रति साथमा राख्नेछन् र आफ्ना बालबच्चालाई अध्ययन गर्न प्रेरित गर्नेछन्। कसैको एउटा सन्तान जन्म्योरे भन्दा मात्र पनि हर्ष प्रकट हुन्छ भने अहिले दुमी समुदायको माझमा शब्दकोशरुपी साझा सन्तानको जन्म भएको छ। यसको प्रशव पीडाको कथा–व्यथा लामो भएर पनि अन्त्यमा सुखद भएर जन्मिएको छ। निम्छरो छैन भन्ने लागेको छ। यही सन्तानले भोलि दुमी इतिहासको संरचनामा ठोस योगदान पुर्याउने छ। यो भन्दा ठूलो पूण्यकर्म अरु के हुन सक्ला ! मानिस मरेपछि बौरिदैन, तर भाषा बौरिन्छ भन्ने विद्वानहरूको भनाइलाई शिद्धगर्ने सिद्धहस्त स्वयं दुमी राईहरू नै निस्केको पाउँदा दुमीको नक्षत्रहरू पाइयो भन्ने लागेको छ। यस अघि दुमी समाजलाई नामले मात्र चिनिन्थ्यो भने अब दुमी शब्दकोशले चिनाउने बाटो निर्माण भएको छ। यो एउटा प्रारम्भिक ऐतिहासिक आधारस्तम्भ हो। अहिले ढुङ्गा माटोको जोडाई मात्र छ, भोली सिमेण्ट, छड र सिंगमरमरको जोडाई थप्दै भाषा समृद्धि तर्फ अगाडि बढिनेछ। यसको हेरचाह, सदुपयोग र कार्यन्वयन हामी आफैमा निर्भर छ।
कुनै समय त्यस्तो पनि बेला थियो कि, के लोप भैसकेको दुमी भाषामा पनि शब्दकोश बन्ला र ? यस्ता नचाहिदो काम पनि आजको जमानामा गर्ने हो ? भनेर संस्थालाई लात मारेर हिँड्ने मित्रहरू पनि नभएका होइनन्, काम गर्दैगर है साथी हो, भ्याएपछि सघाउँला भन्नेहरूको मीठो आशा बर्षाउने महानुभावहरू पनि नपाएका होइनौ, भेट्ने भाका दिएर अघिल्लै दिन टापकस्ने साथीहरू पनि नरहेका होइनन्। कहिँ किरात राई वंशकै भाषिक भीडमा हाम्रो मातृभाषा हराउलाकि भन्ने पनि त्रास थियो। तर यी सम्पूर्ण वाधा व्यवधानहरूलाई पञ्छाउँदै दुमी किरात राई फन्सिकिम अगाडि बढेको–बढेकै भयो र देखाईदियो चमत्कार– दुमी शब्दकोश प्रकाशन गरेर। यो ‘हुने विरुवाको चिल्लो पात’ हो। यो चिल्लोपातमा श्रीजना, शीप र अठोट अंकित छ। आजको शब्दकोशको निर्माणले भोलिको सिङ्गै दुमीभाषाको उत्थानको लागि विद्यालयमा दुमीभाषामा पाठ्यक्रम र पाठ्यपुस्तकको निर्माणमा बल पुर्याई सिङ्गो दुमी समुदायको अस्तित्वलाई बचाउने आधार तयार भएको छ। २९ भन्दा बढी किरात राईहरूको समुदायमा दुमी राई पनि अस्तित्वमा छन् भन्ने यो नै हाम्रो पहिलो प्रमाणिक ऐतिहासिक दस्तावेज हो। त्यसैलै यो एउटा गौरबपूर्ण ऐतिहासिक भाषिक निशानी हो।
दुमी किरात राई फन्सिकिमले प्रारम्भ गरेको दुमी शब्दकोश निर्माणको यस्तो महान कार्यलाई सहयोग पुर्याउनु हुने सरकारी, गैरसरकारी तथा व्यक्तिगत हैसियतबाट सहयोग पुर्याउनु हुने तमाम दाज्यूभाइ दिदी बहिनीहरूलाई संस्थाको तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहन्छु। यत्ति लामो समयसम्म धैर्यताकासाथ बौद्धिक कार्यमा लागीरहने फन्सिकिमका केन्द्रीय महासचिव तथा दुमी शब्दकोशका सम्पादक नेत्रमणि हलक्सु राईप्रति अनन्य धन्यवाद सहित हार्दिक बधाई दिन चाहन्छु। सह–सम्पादक मण्डलका सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। भाषाविद विद्वान प्रा. डां श्री नोबल किशोर राईज्यू र प्रा. डा. श्री माधव पोखरेलज्यूको सानिध्यता हाम्रो लागि बरदान सावित भएको छ। यसको लागि उहाँहरूप्रति चीर ऋणी हुदै हार्दिकतापूर्वक धन्यवाद ज्ञापन गर्दछु। प्राविधिक पक्षमा अहोरात्र लाग्नु भएका अनन्य मित्र तथा भाषाशास्त्री श्री कृष्ण पौडेल र प्रकाशनलाई सहयोग पुर्याउनु हुने तपाई सम्पूर्ण बन्धुहरूलाई सादर धन्यवाद छ। व्यवस्थापनका जिम्मा लिनु भएका संयोजक तथा दुमि किरात राई फन्सिकिमका केन्द्रीय उपाध्यक्ष ऋषिश्वर राई, आर्थिक परिचालनको जिम्मेवारी बहन गर्नुहुने केन्द्रीय कार्य समितिका कोषाध्यक्ष गुणराज राई, सह कोषाध्यक्ष दुर्गा राई तथा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, जसले शब्दकोश निर्माणमा अमूल्य योगदान गर्नु भएको छ, उहाँहरूलाई एकमुष्ट रुपमा धन्यवाद छ। त्यसैगरी संस्थागत रुपमा यस महान कार्यमा आर्थिक सहयोग पुर्याउने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, गाउँ बिकास समितिहरू खार्मी, जाल्पा, बाक्सिला, सप्तेश्वर र माक्पाप्रति सादर धन्यवाद छ। दुमकिम, देलकिमका पदाधिकारी तथा सदस्यज्यूहरू, नक्षो, तायाताङ्कु, रिदुमी मुदुमीहरू, जसले यस महान कार्यमा योगदान गर्नु भएको छ उहाँहरू सबैलाई एकमुष्ट धन्यवाद छ। आर्थिक भार बहनगरी सहयोग गर्ने रिजेन्सी सहकारी संस्थालाई पनि धन्यवाद दिन चाहन्छु। त्यसैगरी २०५६ सालदेखि नै भौतिक, नैतिक सहयोग गर्ने बेविलोन नेशनल स्कूल, शान्तिनगरलाई पनि धन्यवाद दिन चाहन्छु। व्यक्तिगत हैसियतले सबभन्दा ठूलो रकम रु. ५५,५५५।– रकम हस्तानतरण गरी शब्दकोश प्रकाशनमा सहयोग पुर्याउनु हुने दुमी किरात राई फन्सिकिमका मानार्थ सदस्य धनप्रसाद सरचु राईज्यू लगायत सपरिवारलाई पनि धन्यवाद दिन चाहन्छु।
काठमान्डौमा रहेर दुमी एकतासँगै ‘दुकिराफ’को लक्ष्य पूरा गर्न प्रेरणादायी अभिभावकत्व प्रदान गर्ने सिलसिलामा दुमी शब्दकोश निर्माणार्थ आर्थिक संकलनमा सहयोग पुर्याउनु हुने दुकिराफ पूर्वउपाध्यक्ष क्याप्टेन नैनबहादुर राई MM2 तथा धरान निबासी दुकिराफ सदस्य श्री पर्जबहादुर दिम्मचु राई तथा दुकिराफ दुमकीम अध्यक्ष श्री जगतबहादुर सरचु राई विशेष धन्यवादका पात्र हुनुहुन्छ।
स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्नुहुने दाता महानुभावहरू सबै धन्यवादका पात्र हुनु हुन्छ। दुमी थातथलोदेखि शहर–बजारसम्म चिसो ठिहीमा देउसीसँगै मारूनी र सेलोको भाकामा देउसी–भैली उराल्दै ‘दुकिराफ’को लक्ष्य चुम्न उद्धत कलिला भाइ–बहिनीहरू तथा जिज्ञासु दुमीजनप्रति स्वस्फूर्त सहभागिताको लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
विदेशी नागरिक भएर पनि दुमीको भलो चाहने विद्वान भाषाशास्त्री तथा दुमी किरात राई फन्सिकिमका मानार्थ सदस्य प्रा. डा. जर्ज भन्द्रिमज्यू जसले समय समयमा हामीलाई भाषा संरक्षण अभियानमा हौसला र बौद्धिक सल्लाह प्रदानगर्दै आउनु भएको छ। उहाँप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु, दुमीको संस्कृतिलाई संसारभर नै चिनाउन प्रयत्नरत संस्कृति अनुसन्धानविद तथा दुमी किरात राई फन्सिकिमका मानार्थ सदस्य तथा प्रेरक व्यक्तित्व अल्वान अदा भान स्टकहाउजेन र मारियन वेट्स्टेइन अतिथिज्यूहरू जसले फन्सिकिमलाई २०५७ सालदेखि नै आर्थिक र नैतिक सहयोग गरी हामीलाई निरन्तर हौसला प्रदान गर्दै आउनु भएको छ, उहाँहरूप्रति पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
अन्त्यमा, दुमी शब्दकोशको सर्वाधिक उपयोगबाट आफ्नो मातृभाषाको जग बसाउन पुनः तपाई हामी नै जुट्नु पर्ने भएकाले यसका कुन अंश अपुरो छ, कुन सुधार्नु पर्छ, होचो, अर्घेलो, खुँडे, कर्चे, छोडिएको बिरिएको सबैको एकमुष्ट सुझाव सल्लाह सम्पादक एवं प्रकाशकलाई उपलब्ध गराई वौद्धिक सहयोग गर्न हुन र आगामी दिनमा पनि यसरी नै सबैखाले सहयोग पुर्याई दुमी किरात राईहरूको अस्तित्व र पहिचान निर्माणको कार्यमा होस्टेमा हैसैगरी योगदान पुर्याउन हुन सबैमा हार्दिक अनुरोध गर्दछु। नीरी।
२०६८, भाद्र १ गते
चतुरभक्त राई
अध्यक्ष
दुमी किरात राई फन्सीकीम