माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन्। यी जाति सप्तकोशीको सहायक नदी किनार र मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेशमा बासोवास गर्दछन्। सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, बोटे र पश्चिम नेपालका केही क्षत्री, रायमाझीले पनि माझी लेखाएकाले माझी जातिको पहिचान नै सङ्कटमा परिसकेको छ। २०६८ सालको जनगणना अनुसार माझी जातिको जनसङ्ख्या ८३,७२७ छ।
भाषावैज्ञानिकहरुले माझी भाषालाई भारोपेली भाषा परिवारमा राखेका छन्। २०६८ सालको जनगणना अनुसार माझी भाषाका वक्ता २४,४२२ रहेका छन्। भाषा नबोल्ने माझी गाउँमा पनि अवशेषको रूपमा माझी भाषाका शब्द प्रयोग हुने गरेको पाइन्छ। अन्य भाषाको अतिक्रमणले यो भाषा लोप हुने अवस्थामा पुगेकोछ। यसको
संरक्षणको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बाहेक कुनै पनि निकायबाट पहल भएको छैन। यसको बारेमा माझी जातिले नै बढी सकृयता देखाउनु पर्दछ। यो भाषा बोलीचालीमा मात्र सिमित छ।
विशेषगरी तामाकोशी, सुनकोशी र दुधकोशी गडतीरमा माझी भाषा बोल्ने गर्दछन्। यस भाषाको केही क्षेत्रीय भाषिका भेदहरू पाइन्छन्। प्रत्येक जिल्ला र गाउँहरूमा केही भिन्नताहरू छन्। उदाहरणका लागि नेपाली शब्द ‘खानु'’लाई तामाकोशीमा ‘खा’, ‘खाइ’ र सुनकोशी र दुधकोशीमा ‘खारा’ भन्दछन्। यसमध्ये मुख्य भाषा कुन हो भन्नेबारे अध्ययन अनुसन्धान हुन बाँकी नै छ। दुरीको आधारमा दुधकोशी र तामाकोशीको भाषा बढी मिल्नु पर्ने हो तर दुधकोशी र सुनकोशीको चाँहि बढी मिलेको पाइन्छ। यी तीन क्षेत्रबाहेक अन्यत्र पनि यो भाषा फाटफुलट रुपमा बोल्ने गरेको पाइन्छ। छरिएर मौखिक रुपमा रहेका शब्दसंकलन गर्नु, लेख्य रुप प्रदान गर्नु, सर्वाधिक प्रयोग हुने मूल क्षेत्रको भाषालाई आधिकारिक बनाउनु वा मानक रुप दिनु, माझी भाषाको अध्ययनमा सहयोग पुर्याउनु, शब्दको अर्थ व्यवस्था गर्नु यस शब्दकोशका निम्न उद्देश्य रहेका छन्।
(क) भाषा बोल्ने माझी समुदायले पनि आफ्नो मातृभाषालाई छोडेर अन्य भाषा बोल्न थालेका छन्। भाषा बोल्न नजान्नेहरु धेरै छन्। उनीहरूलाई माझी भाषाको महत्वको बारेमा जानकारी गराइ आफ्नो मातृभाषामा बोल्न र लेखपढ् गर्न सक्ने बनाउनु यस कोशको निमार्ण भएको हो।
(ख) विद्यालयमा मातृभाषामा समेत पठनपाठन गराउने सरकारी नीति भएतापनि हालसम्म माझी भाषामा पढाइ हुन नसकेकाले पढ्ने पढाउने र अन्य माझी भाषा प्रेमी, प्रयोगकर्ताहरूलाई माझी भाषाका शब्द प्रयोग र लेखनबारे आवश्यक भएको हुँदा भाषाको जग बनाउनको लागि यस शब्दकोशको निर्माण भएको हो।
(ग) माझी भाषामा माझी समुदाय, भाषाप्रेमी, भाषावैज्ञानिकहरूको रुचि बढेको हुनाले माझी भाषाको अध्ययन गर्न केही सहयोग पुग्न सकोस् भन्ने ध्येय पनि यस शब्दकोशको रहेको छ।
(घ) माझी भाषाको मानकलेखनमा हालसम्म शब्दकोश प्रकाशन हुन नसकेकोले दिशा निर्देशन गर्न पनि यसले चाहेको छ।
-धन बहादुर माझी