दुई शब्द

आज पृथ्‍वीका ७ अर्ब ७० करोड मानिसहरूले कुनै न कुनै भाषा बोल्‍दछन्‌। भाषा मान्‍छेको विचार आदान प्रदान गर्ने साधन भएको छ। भाषाको उत्‍पत्ति र विकास यही मानवीय आवश्‍यकतापूर्तिको लागि भएको मानिन्छ। आज संसारमा बोलिने लगभग ७,११७ भाषाहरू (एथ्नोलग २१औं संस्करण २०२०) मा नेपालमा मात्र १२५ जातजातिहरूबीच १२३ भाषाहरू बोलचालमा रहेको मानिन्‍छ। तीमध्‍ये धिमाल भाषा पनि एक हो भनी चिन्‍ने र चिनाउने प्रामाणिक आधारका लागि यो शब्‍दकोशले आधार खडा गरिदिएको छ भन्‍दा अत्युक्ति नहोला। धिमाल भाषा अरू कुनै भाषाको भाषिका नभएर एउटा स्वतन्त्र भाषा हो भन्‍ने कुरा यसै शब्‍दकोशको प्रकाशनले सिद्ध गर्ने छ।

धिमाल शब्‍दकोश निर्माण गर्ने क्रममा धिमाल जातिय विकास केन्‍द्र, नेपाल (DEDC), मातृभाषा केन्‍द्रनेपाल (MTCN) र SIL International (Nepal) को संयुक्त पहलमा २०७३ बैशाख १२ र १३ गते धिमाल परियोजना स्‍थल मोरङमा, धिमाल मातृभाषीहरू, भाषाविज्ञ, लेखक, पत्रकार, शिक्षक तथा जातीय संस्‍थाका पदाधिकारीहरूको समेत सहभागितामा सञ्‍चालित धिमाल वर्णविन्‍यास पुनरावलोकन कार्यशाला गोष्‍ठीबाट ‘धिमाल भाषा लेखनशैली निर्देशिका’ तयार गरिएको थियो। जसअनुसार धिमाल भाषाका उच्‍चारणका आधारमा ११ वटा स्‍वर तथा ३६ वटा व्‍यञ्‍जन ध्वनिहरू रहेको पाइएको छ। धिमाल भाषा लेखनमा एकरूपता कायम गर्नको लागि धिमाल भाषा लेखनशैलीको आधारमा देवनागरीमा लिपिवद्ध गर्ने निर्णय भएको छ।

सुदुर पूर्वी नेपालअन्तर्गत प्रदेश नं १ को झापा, मोरङ र सुनसरी जिल्‍लाको केही क्षेत्रहरूमा परापूर्व कालदेखि आदिवासी जनजातिका रूपमा बसोबास गर्दै आएका अल्‍पसङ्ख्‍यक धिमाल जातिहरूले मातृभाषाका रूपमा धिमाल भाषा बोल्‍दछन्‌। धिमाल भाषा चिनियाँ-तिब्‍बती महापरिवार अन्‍तर्गत भोट-बर्मेली शाखामा पर्दछ। राष्‍ट्रिय जनणना २०६८ अनुसार धिमालहरूको कूल जनसंख्‍या २६,२९८ (१४,१८४ महिला तथा १२,११४ पुरुष) मध्‍ये मातृभाषाको रूपमा धिमाल भाषा बोल्‍नेहरूको सङ्ख्‍या १९,३०० देखाइएको छ। जसअनुसार नेपालको कूल जनसंख्‍याको ०.०९% स्‍थान धिमालहरूले ओगटेको देखिन्‍छ भने ७३.३८% धिमालहरूले आफ्‍नो मातृभाषा बोलेको देखिन्‍छ। लैङ्गिक दृष्‍टिले ७३.६३%(१०,४४५) महिला र ७३.०९%(८,८५५) पुरुषले धिमाल भाषा बोल्‍ने गरेका छन्‌।

धिमालहरूले आफ्‍नो घरपरिवारभित्र र धिमाल समुदायका मानिसहरूसँग कुराकानी गर्दा धिमाल भाषाको नै प्रयोग गर्दछन्‌। जातीय जनसङ्ख्‍या र मातृभाषी जनसङ्ख्‍यामा देखिने अन्‍तरले धिमालहरूलेआफ्‍नो भाषा बोल्‍न छाड्‍दै गएकोतर्फ सङ्‌केत गर्दछ।धिमाल भाषाको संरक्षण, सम्‍बर्धन तथा शैक्षिक प्रयोजनका लागि धिमाल भाषामा एउटा छुट्टै व्‍याकरणको लेखनकार्य सम्‍पन्‍न गर्नुपर्ने पनि देखिन्छ।

धिमाल भाषाबारे केही उल्‍लेख्य अध्येताहरु रहेका छन् । स्वदेशी तथा विदेशी ती अध्येताहरूमध्ये गैरधिमाल डा. जोन टि. किङको  पिएचडि थेसिस “अ ग्रामर अब धिमाल (२००९)” प्रकाशनमा आएको छ। डा. कर्णाखर खतिवडाको पिएचडि थेसिस “धिमाल मर्फोसिन्ट्‍याक्स (२०१६)” पनि विभिन्न खण्डमा प्रकाशन भैसकेको छ। यसका साथै वरिष्‍ठ भाषाविद् सुएयोशी तोबाले पहिलो पटक नगेन्द्र धिमाल र चन्द्र धिमालको सहयोगमा धिमाल–नेपाली–अंग्रेजी शब्दसंग्रह (१९९९, २००२) प्रकाशन गर्नु भएको छ । धिमाल समुदायबाट धिमाल लेखकहरुबाटै पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरबाट कक्षा १–५ सम्मका पुस्तकहरु प्रकाशन भएका छन् ।

धिमाल समुदायबाटै पनि डा. सोमबहादुर धिमालद्वारा “एक्स्प्लोरिङ द रिलेशनसिप बिट्‍वीन ल्याङ्वेज एण्ड कल्चर इन धिमाल (२०१८)” पिएचडि सोधकार्य पूरा गरी जर्मन ह्याम्बर्गको डिजर्टा भल्र्याग प्रकाशकबाट पुस्तकाकारमा प्रकाशित भैसकेको छ । साथै त्रिवि कीर्तिपुर, मातृभाषा केन्द्र नेपाल, एस.आइ.एल. इन्टरनेशनल (नेपाल) तथा श्री धिमाल जातीय विकास केन्द्र नेपालले पुर्‍याएको योगदान पनि धिमाल भाषा प्रवर्द्धन तथा संरक्षणको दिशामा कोसेढुङ्गा साबित हुने नै छ । धन्यवाद ।

 

 

मिति:- २०७६।१०।२९

म्पादन सहयोगी

जीवन कुमार धिमाल

चन्द्रकान्त धिमाल

पात्र धिमाल

तिलक धिमाल