परिचय

१. पृष्‍ठभूमि

दुमी भाषा पूर्वी नेपालको पहाडी क्षेत्रमा बोलिने किराती राई समूह अन्तर्गतको एक भाषा हो। माझकिरात प्रदेश अन्तर्गत खोटाङ जिल्‍लाको उत्तरी भेगका पाँच गाविसहरू “खार्मी, जालपा, बाक्सिला, सप्‍तेश्‍वर, माक्पा (खाजाबासमा)”का साथै त्यस आसपासका अन्य ११ वटा गाविसहरू: महेश्‍वरी(रिब्दुङ), सुङ्देल, पाथेका, फेदि, हाँचेका (कुभिन्डे), बासपानी, दिक्तेल, खार्ताम्छा, नेर्पा, हौंचुर र लामिडाँडा “(मसुंपा-बाहाँफे-दिखाने-हौंला)” लाई दुमीराईहरूले आफ्नो “मूलथलो (Origin) वा आदिम् थातथलो (Core-Area)” वा “दुमी थातथलो (Dumi-Homeland)” को रूपमा मान्दै आएका छन्। यसरी पूर्वमा चिलिमढुङ्गा (सीलीचुम) र रूपाकोट डाँडा, उत्तर-पश्‍चिममा दूधकोशी, दक्षिण-पश्‍चिममा किरात ऐतिहासिक स्थल जायजुम (मल्‍लथुम्का)को वीचमा दुमी किरात राईहरू खम्बुहाङको पाला (करीव २५ पुस्ता वा लगभग ६२५ बर्ष) अघिदेखि स्थायी रूपमा बसोबास गर्दै आएका छन्। उत्तरतिर लस्करै सेताम्मे हिमालको सामुन्‍ने फैलिएको पहाडी भू-खण्डमा दुमीराईहरू आदिम कालदेखि मौलिक परम्परा र ठेट् पहिचानका साथ मौलाएका छन्। हाल आएर दुमी सन्ततिहरू खोटाङ जिल्‍लाको साथै सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम तथा काठमाडौं उपत्यका लगायत मुलुकबाहिर विभिन्न देशहरूमा पनि छरिएर रहेका छन्।

छिमेकी किरात ऐतिहासिक विविधतालाई नियाल्दा पूर्वमा साम्पाङ, उत्तर–पूर्वमा कोयु (कोयी), उत्तर-पश्‍चिममा थुलुङ र दक्षिण-पश्‍चिमतर्फ चाहिँ चाम्‍लिङभाषी किरात राईहरु बसोबास गर्दैआएका छन्। त्यसभन्दा अरू बढी ‘कुलमा कुटुम्ब: काजमा भाइ’को फराकिलो दायरालाई विचारिहेर्दा उत्तरी क्षेत्रमा खालिङ, नाछिरिङ (नाछ्रिङ), कुलुङ; पश्‍चिमी क्षेत्रमा बाहिङ, वाम्बुले, जेरुङ; त्यसैगरी दक्षिणी क्षेत्रमा तिलुङ, पुमा र पूर्वी क्षेत्रमा बान्तावा आदि किरात राईभाषिक समुदायहरु सदियौंदेखि बसोबास गर्दै आएका छन्। नपालीभाषी अन्य जातजातिहरूमा दमै, कामी, सार्की, गिरी, पुरी, मगर, लिम्बु, तामाङ, शेर्पा, नेवार, गुरुङ, क्षेत्री, बाहुन आदि ईष्टमित्रहरू समेत ओल्‍लो-पल्‍लो गाउँ-टोल र छरछिमेकमा रहिआएका छन्।

दुमी राईहरूको परम्परागत पेसा कृषि तथा पशुपालन हो। तापनि अहिले उनीहरू शिक्षण, सरकारी र सैनिक सेवा, व्यापार व्यवसाय र वैदेशिक रोजगारमा समेत लागेका पाइन्छन्। अन्य कतिपय किरात राई भाषाहरू झैँ दुमी भाषामा पनि लेख्य परम्परा नभएकाले ‘थुतुरी वेद’ का रूपमा परिचित उनीहरूका अति महत्वपूर्ण संस्कार-संस्कृतिको स्रोत ‘मुन्धुम्’ आजसम्म पनि मौखिक रूपमा मात्र सीमित छ, जुन चाहिँ ताया-कुबीमी, धामी र पुर्खाहरूले मात्र पुस्तौँ-पुस्तादेखि भट्‍याउँदै र बचाउँदै ल्याएका छन्।

लोपोन्मुख दुमी भाषा माक्पा, जालपा-खार्मी र बाक्सिला-सप्‍तेश्‍वर गरी प्रमुख तीन क्षेत्रहरूमा बोल्ने गरेको पाइन्छ। हालमा अन्तिम दुईवटा क्षेत्रहरूलाई छोडेर माक्पा क्षेत्र (वा गाविस)का केही गाउँहरू (लुम्दु र नोरुङ)मा मात्र वृद्ध, युवा र बच्‍चासम्मका तिनै पुस्ताले दैनिक जीवनमा दुमी भाषाको प्रयोग गर्ने गरेको भेटिन्छ। अन्य क्षेत्रहरूका हकमा भने दुमी भाषा तीब्र रूपमा बिर्संदै गएका छन्। यस भाषामा कुनै लिपि तथा आधिकारिक लेखन पद्धतिको विकास नभए पनि भाषिक अभिलेखन जस्ता केही लघु प्रयासहरू भने बिगत दुई दशक अघिदेखि भैराखेका छन्। यसका साथै दुमी भाषाको अभिलेखीकरण र समाजभाषावैज्ञानिक स्थलगत अध्ययनका साथ विस्तृत प्रतिवेदन लेखनको काम समेत सम्पन्‍न भैसकेको छ।

२. पारिवारिक सम्बन्ध र नाम

दुमी शब्दले साझा रूपमा जाति र भाषा दुबैलाई जनाउँछ। दुमी राईहरू आफ्नो मातृभाषा ‘दुमी भाषा’ लाई ‘होपुपो ‘ब्र/ब’ वा ‘तुम्‍लो’ भन्दछन्। जसको अर्थ ‘आफ्नो भाषा’ भन्ने हुन्छ। यो चीन-तिब्बती परिवारको भोट-बर्मेली शाखाको बोडिक उप-शाखाभित्र पर्ने हिमाली समूह अन्तर्गत पूर्वी हिमाली वा किरात राई शाखाभित्र पर्दछ। माझ किरात प्रदेश अन्तर्गत भाषिक परिवार वा विशेषताको आधारमा खालिङ र कोयी तथा भौगोलिक आधारमा चाहिँ थुलुङ, नाछिरिङ, सामपाङ आदि दुमीका नजिकका किरात राई समूहका भाषाहरू हुन्। दुमी भाषाको पारिवारिक सम्बन्धलाई तलको चित्रमा प्रस्टसँग हेर्न सकिन्छ।

यस भाषाको वर्गीकरण सम्बन्धमा विन्टर (१९९१) ले भने जस्तै सिङ्गो दुमी क्षेत्रलाई पश्‍चिमी (माक्पा + जालपा) र पूर्वी (अन्य क्षेत्रहरू) गरी जम्मा दुई भाषिकामा अलग्याउनु पनि एक हिसाबले मनासिव नै देखिन्छ। त्यसैगरि अर्का पाका भाषाविद् जर्ज भान्द्रिम (१९९३) का अनुसार सम्पूर्ण दुमीभाषी बसोबास क्षेत्रलाई अनेक भाषिकाहरूमध्ये सप्‍तेश्‍वर, ससर्का + खार्मी, बाक्सिला र माक्पा गरी मुख्य चार समूहमा वर्गीकरण गरेको देखिन्छ । यसै सन्दर्भमा समस्त दुमीभाषीहरूका अनुसार पनि सप्‍तेश्‍वर + बाक्सिला, जालपा + खार्मी र माक्पा गरी विशेष तीन क्षेत्रहरूमा धेर-थोर विविधता रहेको भन्‍ने बुझिन्छ ।

३. जनसङ्ख्या र लोपोन्मुखता

नेपालको जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालमा जम्मा ७,६३८ जना दुमीहरू रहेको देखिन्छ । जुन चाहिँ कुल जनसङ्ख्याको ०.०२% हुन आउँछ । हालमा विविध कारणले गर्दा यस भाषाको वक्ता-सङ्ख्या दिनदिनै घट्दै गैरहेको छ । अधिक मात्रामा मातृभाषी दुमीहरू नेपाली भाषामा द्विभाषी हुनुले भाषा परिवर्तनको मारमा पर्दै गएका छन् । दुमी संस्था ‘दुमी किरात राई फन्सीकीम (दुकिराफ) द्वारा सम्पन्‍न गरिएको एक स्थलगत अध्ययनको क्रममा प्राप्‍त वस्तुस्थिति अनुसार नेपाली भाषाले दुमी भाषालाई विस्थापित गर्ने क्रम तीव्र छ भने अर्कोतिर दुमी वक्ताको सङ्ख्या सीमित रहन गएको देखिन्छ । यसर्थ पनि दुमी भाषाको अस्तित्व सङ्कटमा परेको प्रष्‍ट हुन्छ ।

दुमी भाषा सङ्कटमा पर्दैजानुका प्रमुख कारणहरूमा खस-नेपाली भाषाको सीधा प्रभाव, अन्तरभाषी विवाह, चेतनाको अभाव, न्यून जीवनस्तर, राज्यको अस्पष्ट भाषिक नीति तथा कार्यान्वयन, आदि पर्दछन् । आफ्नो मातृभाषा र मौलिक संस्कार हराउँदै गइरहेको अवस्थामा दुमी राईहरूले स्वपहिचान स्थापित गराउने उद्देश्यका साथ विगत दुई दशकअघिदेखि दुमी किरात राई फन्सीकीम (दुकिराफ) नामको एक संस्था स्थापना गरी यसै मार्फत् दुमी भाषा-संस्कार तथा कला-संस्कृतिको संरक्षण, संवर्द्धन र विकासको लागि क्रियाशील रहँदै आएका छन् ।