परिचय

नेपालका १२५ जाती तथा सूचीकृत ५९ आदिवासी जनजातिहरू अन्तर्गत ल्होमी जाति पनि एक हो । स्यीङ्साबा अर्थात् भोटीया भनेर पनि चिनिने यो जाति यहाँका अधिकांश अल्पसङ्‍ख्यक समुदायमा पर्दछ। पूर्वी नेपालको प्रदेश एक अन्तर्गत उतरी संखुवासभा जिल्‍लाको माथिल्‍लो अरुण र बरुण उपत्यका आसपासमा आदिमकालदेखि ल्होमीहरू बसोबासरत छन्। त्यसबेला तिब्बतको फेरुक (खार्ता) क्षेत्र र ल्होमीहरूबीच वस्तुविनिमयमा आधारित व्यापार चल्दथ्यो। दुईपक्षीय आपसी सम्बन्ध तथा दोहोरो रूपमा आइजाइ चल्‍ने गर्थ्यो। ‘ल्होमी’ शब्द तिब्बतको फेरुक (खर्ता) क्षेत्रको बुझाइमा स्थानीय दुई शब्द: ल्हो ‘दक्षिण’ र मे वा मी ‘मानिस’ जोडिएर ल्होमे हुँदै कालान्तरमा ल्होमी ‘दक्षिणी मानिस’ बनेको बताइन्छ (People of Nepal, 1967 pg.145-52)।

अर्को तर्कअनुसार दुई अलग ल्होमी शब्दहरू ल्हेमा ‘एक निश्‍चित होचो भूगोल’, र मे /मी ‘मानिस’ जोडिएर वा समास भएर ल्हेमे, ल्हेमेय, ल्होमे हुँदै अन्तत: ल्होमी ‘तिब्बतको फेरुक क्षेत्रभन्दा होचो भूगोल वा माथिल्‍लो अरुण उपत्यकामा बसोबास गर्ने मानिस’ लाई नै ‘ल्होमी’ भन्ने गरेको पाइन्छ।

(Himalayan trader’s life in highland Nepal, 1957)। भौगोलिक रूपमा तिब्बतको फेरुक क्षेत्रभन्दा माथिल्‍लो अरुण उपत्यका दक्षिणी दिशामा रहेको होचो भूभागमा पर्दछ। स्थानीय छिमेकी नाबा जातिले समेत यस समुदायलाई ‘ल्हेमे’ तथा ‘ल्होमी’ भनेर नै सम्बोधन गर्दछन्।

ल्होमी जातिलाई नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा (२) को अनुसूचीमा सूचीकृत ५९ आदिवासी जनजातिमा समावेश गरिएको छ। जसमा ल्होमी (शिङ्साबा) भनेर सूचीकृत गरी अति सिमान्तकृत भाषिक समूहमा वर्गीकरण गरिएको छ। यो जातिलाई शिङ्साबा र कारभोटे उपनाम पनि दिइएको छ, र ल्होमीहरू नेपालको अलावा किमाथाङ्‍का नाकादेखि पारि तिब्बतको डेन्दाङ्, लुङ्देक क्षेत्र र भारतमा पश्‍चिम बङ्‍गालको दार्जीलिङ तथा कालीम्पोङ लगायतका अन्य क्षेत्रहरूमा पनि बसोबास गर्दछन्।

ल्होमी (शिङ्साबा) वंशभित्र थीकेपा, नुप्पा, पोङ्स्युव, खुम्बुवा, भो़च्याब, ज्यवस्यारीङाप्‍ताक, लीङ्बो, फेक्नाक, मोनाङ, चाङ्बा, खाम्बा, ढाक्‍तोक्प, ल्होरुङ, गाङ्दोक्पा, घुक्मुवा आदि गरी दुई दर्जनबढी थरहरू पाइन्छन्। थीकेपा थरभित्र पनि पुबुकाम्म, उच्येन्टेस्यी, भीस्यीङ्च्येम्म, ढोङ्मेप, थुज्यीब, पेछीरीङ्, रप्‍तेम्ब, ढोङ्देप्प, पेज्यबा, सेक्नेपेदेन, हमुवा, बक्हुछ्‍या आदि उपथरहरू छन्। त्यसैगरी नुप्पा थरभित्र पनि सोनरीन्ज्येन (ढोङ्‍दो़प्प), युगोक्प, हमोव, सेच्या, गम्बुक्प, ॱलाप्‍राङ्, लालीन्सवा, ल्हामुछीरीङ्, याङ्जनुप्पु, पेरुव, भलुङ-लोबाङ जस्ता उपथरहरू भेटिन्छन्।

ल्होमी शिङ्साबाहरूले आफ्नो भाषालाई ‘ल्होकेत्’ भन्दछन्। यो भाषा भोट-बर्मेली भाषा परिवारभित्र पर्दछ। सङ्‍खुवासभा जिल्‍ला भोटखोला गाउँपालिकाको हटिया (दाम्दामामुक), होङगोङ (पाङ्दोक), चेपुवा (थाङ्मुछ्‍यी), च्याम्ताङ (दाम्दाङ्म), गुम्बा (गोम्ब), लिङ्‍गाङ् (लिङ्‍गम्), रुकम (रुकुमा), स्याक्सीला (सेक्सुम), सेम्बुङ्, नामासे (नामुछ्‍यी), सिप्रुङ् (छीगुलुङ्) आदि गाउँठाउँहरूमा एकल भाषिक समुदायको रूपमा ल्होमी भाषा बोल्ने गरिन्छ।

यी गाउँहरूमा सानोतिनो भिन्‍नताबाहेक खासै स्पष्ट क्षेत्रीय भेद रहेको भने पाइँदैन, तर पनि ल्होमी बसोबास क्षेत्रको केन्द्रविन्दुमा रहेको चेपुवा गाउँमा बोलिने भाषाको लवजलाई भने मानक भाषाको रूपमा लिइएको छ। ल्होमी भाषाले हिमाली क्षेत्रमा बोलिने शेर्पा, नाबा, ल्होवा, डोल्पो, ह्‍योल्मो, नुप्‍री आदि भाषाहरूसँग सामीप्यता राख्दछ।

माथिल्‍लो अरुण उपत्यकालाई आफ्नो थातथलो वा पुर्ख्यौली थलो ठान्‍ने ल्होमी जातिले हाल आएर रोजगारी वा अवसरको खोजीमा आफ्नो थातथलो छाडी सदरमुकाम खाँदबारी वा अन्य सहरी क्षेत्रहरू: धरान, दमक, काठमाडौं आदि शहरी क्षेत्रहरूमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने गरेको पाइन्छ। ल्होमीहरूको जनसङ्ख्या नेपालमा करिब २० हजारको हाराहारीमा रहेको अनुमान गरिन्छ। यद्यपि राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार उनीहरूको जनसङ्ख्या १,६१४ मात्र देखाइएको छ भने ल्होमी भाषा बोल्ने वक्ताको कुल सङ्ख्या पनि ८०० मात्र देखाइएको छ। यसर्थ ल्होमी भाषा नेपालको लोपोन्मुख भाषा समूहमा पर्ने निश्‍चित छ।

मानव समाजमा बोलाइ र बुझाइको सबैभन्दा प्रभावकारी माध्यम हो भाषा, र यसलाई पहिचानका साथ आत्मसम्मान दर्शाउन सक्ने निर्बिकल्प माध्यमको रूपमा पनि लिने गरिन्छ । अझ भनौं, भाषिक समुदायका लागि यो एक अमूर्त पुर्ख्यौली सम्पति हो, पहिचानको दसी हो, र बाह्‍य जगतलाई चिनाउन सक्ने सशक्त माध्यम पनि हो। ल्होमी भाषा सिक्न, मातृभाषामा आधारित साक्षरता र औपचारीक शिक्षाका आधारभूत तहका पाठ्‍य-सामग्रीको निर्माण गर्न, साहित्य सिर्जना र भाषा पुस्तान्तरणका लागि अभिलेखीकरण गरी ल्होमी भाषाको संरक्षण, संवर्द्धन र विकास गर्न यस त्रिभाषिक ल्होमी-नेपाली-अंग्रेजी शब्दकोशले ठूलो योगदान पुग्ने आशा गर्न सकिन्छ।