सिन्यास

मेरो भनाई

धनकुटा नगरपालिका र भिरगाउँ गाउँ विकास समितिमा बसोबास गर्ने आठपहरिया यस क्षेत्रका भुमि पुत्र हुन्। सन् २००१ को जनगणनामा यिनीहरूको जाति नाममा आठपहरिया राई उल्लेख गरिएको थियो भने सन् २०११ को जनगणनामा यिनीहरूको जातिको नाम र भाषाको नाममा आठपहरियामात्र उल्लेख गरिएको छ। यिनीहरूको कुल जनसङ्ख्या ५,९७७ छ। यिनीहरूको आफ्नै प्रकारको भाषा, संस्कृति र धार्मिक परम्परा छ। पुरुषले लगाउने र महिलाले लगाउने भेषभूषाहरूले पनि मौलिक विशेषता बोकेका छन्। तर आधुनिकरणको नाममा यी मौलिक भेषभूषाहरू प्राय हराइसकेका छन्‌। यिनीहरू आफ्नै प्रकारका चाड पर्वहरू मनाउँछन् र आफ्नै देवी देवताहरूको आराधना गर्दछन्। आफ्नो भाषालाई उनीहरू आठपहरिया भाषा भन्दछन्। यो भाषाको वक्ता सङ्ख्या ५,५३० छ। यो भोट बर्मेली परिवारको किराती भाषा हो। बेलाहारे भाषासँग यो भाषाको निकटता छ। त्यसबाहेक छत्थरे लिम्बू र याक्खा भाषासँग पनि यसको निकटता देखिन्छ। यसमा जिब्राको उचाइका आधारमा उच्च, मध्य र निम्न जिब्राको भागको सक्रियताको आधारमा अग्र, केन्द्रीय र पश्च गरी छ ओटा स्वर वर्णहरू पाइन्छन्। मूर्धन्य स्पर्शी व्यञ्जन वर्णहरू यसमा पाइन्छन्। क्रियामा कर्ता र कर्मको रूप, प्रथम पुरुष दुई वचन र बहुवचनमा समावेशी र असमावेशी रुप, एक वचन, दुई वचन र बहुवचन रूप, भूत र अभूत रूप, अकरण रूप आदि पाइन्छन्।

करेन एच.एबर्ट (१९९७) ले अ ग्रामर अफ आठपरे राई भन्ने व्याकरण लेखेर यो भाषाको वर्ण, रुप र वाक्य संरचनाको जानकारी दिइन्। टङ्कप्रसाद न्यौपाने (२०५३) ले आठपरे राईको भाषिक अध्ययनमा विद्यावारिधिको शोधपत्र लेखेर यो भाषाको वर्णनात्मक विश्लेषण गरेका छन्। यी बाहेक गोविन्द बहादुर तुम्बाहाङ (२०१२) ले मर्फोलोजि अफ आठपहरिया भन्ने पुस्तक लेखेर यो भाषाको रूप संरचनाको विवेचना गरेका छन्।

आठपहरिया भाषालाई असुरक्षित भाषाको सूचिमा राखिएको छ। यस अवस्थामा सुरक्षित राख्न आठपहरिया जातिका सदस्यहरूले मेहनत गरी तयार पारेको यो आठपहरिया-नेपाली-अङ्ग्रेजी शब्दकोष एउटा महत्वपूर्ण त्रैभाषिक शब्दकोष हो। यसले देवनागरी लिपिमा आठपहरिया शब्दहरूलाई प्रविष्ट गरेको छ र आई.पि.ए मा ती शब्दहरूको उच्चारण र त्यसपछि तिनिहरूको व्याकरणिक कोटी नेपालीमा, अर्थ नेपाली र अङ्ग्रेजी दुवैमा दिइएको छ। नेपाली शब्दको प्रविष्ट देवनागरीमा र त्यसको अर्थ आठपहरियामा दिइएको छ। त्यसपछि अङ्‍ग्रेजी शब्द प्रविष्टमा र त्यसको अर्थ देवनागरी लिपिमा आठपहरियामा दिइएको छ र त्यो आठपहरिया शब्दको उच्चारण आई.पि.ए मा दिइएको छ। परिशिष्टमा गन्ती, साइनो, शरीरको अङ्ग, चरा, किरा, बार, महिना, आठपहरिया जातिका मुख्य चाडपर्व, आठपहरिया जातिको पाछा, उपपाछा र सामेट्‍लिङ जनाउने शब्दहरू र तिनिहरूको अर्थ प्रस्तुत गरिएको छ। यो शब्दकोशले आठपहरिया भाषा सिक्न चाहने आठपहरिया वा गैरआठपहरिया सबैलाई मद्दत गर्नेछ भन्ने मलाई दृढ विश्वास छ। म यो शब्दकोशको उच्च मूल्याङ्कन गर्दै यसको सम्पादनमा योगदान पुर्‍याउनुहुने शब्द सङ्‍कलन कर्ताहरू र सम्पादन मण्डलका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

डा. गोविन्द बहादुर तुम्बाहाङ

त्रिभुवन विश्वविद्यालय